काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोग (एनसिडी) र यससँग सम्बन्धित उपचारमा खर्च भइरहेको बताएकी छन् ।
एनसिडी एलायन्स नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले अधिकांश नसर्ने रोगहरू रोकथाम गर्न सकिने भए पनि उपचारमा मात्र केन्द्रित हुँदा राज्यमाथि ठूलो आर्थिक भार परेको औँल्याइन् ।
मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको वित्तीय खाडलबारे पनि टिप्पणी गर्दै भनिन्, ‘सरकारले बीमाका लागि १० अर्ब र थप १ अर्ब गरी जम्मा ११ अर्ब रुपैयाँ बजेट छुट्याएको भए पनि हालसम्मको खर्च २४ अर्ब रुपैयाँ पुगिसकेको छ ।’
उनले अनुसार स्थानीय सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने आधारभूत स्वास्थ्य सेवाका लागि समेत बीमाको रकम खर्च भइरहेको छ भने जनताले निःशुल्क पाउनुपर्ने औषधिमा प्रिमियम तिरेका छन्, जसले गर्दा सरकारमाथि दोहोरो आर्थिक भार परेको छ ।
उनले अर्थ मन्त्रालयले यति ठूलो रकम भुक्तानी गर्न नसक्ने अवस्थामा रहेकाले पुनरावलोकन आवश्यक रहेको पनि औँल्याइन् ।
शहरी स्वास्थ्य सेवाका चुनौतीहरूमा ध्यान दिँदै मन्त्री गौतमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार भए पनि शहरी क्षेत्रका विपन्न वर्गका लागि आधारभूत स्वास्थ्य सेवा अझै पहुँचभन्दा बाहिर रहेको बताइन् । स्वास्थ्यकर्मीको असमान वितरण हटाउन मन्त्रालयले तथ्याङ्कका आधारमा न्यायोचित सरुवा र पदस्थापन गर्ने तयारी गरिरहेको उनले स्पष्ट पारिन् ।
मन्त्री गौतमले नेपालमा धूम्रपान नियन्त्रण र नसर्ने रोग व्यवस्थापनका लागि उत्कृष्ट नीति र कानुनहरू भए पनि कार्यान्वयनमा अझ ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले जनशक्ति सुगम क्षेत्रमा मात्र केन्द्रित हुने प्रवृत्तिले सेवा प्रवाहमा समस्या आएको भन्दै अब इक्विटी (न्याय) को आधारमा स्वास्थ्यकर्मी परिचालन गरिने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत सहभागी गराइ सेवा प्रवाहमा खर्च घटाउने र प्रभावकारिता बढाउने विषयमा छलफल गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया