काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीका संस्थापक वीपी कोइरालाले अघि सारेको नीतिलाई कार्यान्वयन गर्ने नीति लिएको छ ।
विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले राखेको प्रस्तावमा कांग्रेसले शैक्षिक स्थलमा हुने गलत प्रवृतिलाई निरुत्साहित पार्ने नीति लिएको हो ।
वीपी कोइरालाले ‘शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने थलो होइन’ भन्ने भनाइलाई कार्यान्वयन गर्न कडा नीति लिने संकल्प गरेको हो ।
पछिल्ला वर्षहरुमा पार्टीमा आस्था राख्ने विद्यार्थी नेताहरुबाट गलत गतिविधि भइरहेको र भन्दै त्यस्तो गतिविधि गर्नेलाई तत्कालै पार्टी सदस्यबाट निकाल्ने नीति अघि सारिएको छ ।
‘शैक्षिक स्थलमा बाहुबल प्रयोगको गलत प्रवृत्ति बितेको दशकमा बढेर गएको छ । विपि कोइराला भन्नुहुन्थ्यो शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने थलो होइन । यो मान्यता बलियो रुपमा स्थापित गर्न सकिएको छैन कतिपय शैक्षिक प्रतिस्ठानहरुमा बेलाबखत बाहुबली प्रवृत्ति प्रकट भएको छ । यो विसंगति कडाका साथ सच्याउन सबैलाई अपीलगर्दै पार्टी निकटका कुनैपनी विद्यार्थीले कहिँ पनि त्यस्तो दुव्र्यवहारको अराजक गतिविधि गरे तत्कालै सदस्यताबाट मुक्त हुने प्रक्रिया तय गर्ने उद्घोष बिशेष महाधिवेशन गर्दछ,’ महामन्त्री शर्माले राखेको प्रस्तावमा भनिएको छ ।
त्यति मात्र नभई पार्टीमा आवद्ध कुनै पनि सदस्य जातीय भेदभाव, घरेलु हिंसा, बाल श्रम लगायतका सामाजिक विसंगतिमा संलग्न भएको प्रमाण फेला पर्नेबित्तिकै तत्काल पार्टी सदस्य नरहने गरी कारबाही गरिने समेत जनाइएको छ ।
‘कांग्रेसको कोहिपनी सदस्य जातीय विभेद, घरेलु हिंसा, बाल श्रम लगायतका सामाजिक विसंगतिमा संलग्न प्रमाणित हुनासाथ निजको पार्टी सदस्यता नरहने प्रावधान कडाइका साथ कार्यान्वयन गर्ने निर्णय बिशेष महाधिवेशन गर्दछ,’ प्रस्तावमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया