सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका आजदेखि भत्कियो : महामन्त्री थापा

लोकपथ
413
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सञ्चालनको पुरानो ढाँचा अब भत्किएको बताएका छन् । काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

महामन्त्री थापाले विशेष महाधिवेशन कुनै व्यक्ति बन्ने वा नबन्ने विषय नभई संघर्षको विषय भएको स्पष्ट पारे । 

उनले महाधिवेशन आफूहरुको नभई प्रतिनिधिहरूको मागअनुसार आह्वान भएको भन्दै, बन्द सत्रले जे निर्णय गरे पनि स्वीकार्य हुने बताए  । थापाले कांग्रेस लासहरूको पार्टी नभई जिउँदा मानिसहरूको पार्टी जिकिर गरे । 

‘लामो समयदेखि पार्टी सञ्चालनको जुन तरिका थियो आजदेखि त्यो भत्कियो। अब कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । माथि बस्नेले तल बस्नेलाई सलाम गर्नुपर्छ, तलबाट माथि होइन । यो संघर्ष पार्टीभित्रको कोही बन्ने नबन्ने भन्ने विषय होइन, पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको हो ।’

थापाले महाधिवेशनको बन्दसत्रको निर्णय कहाँ जाने र के निर्णय हुने थाहा नहुने उल्लेख गर्दै भने,‘मैले पार्टी केन्द्रको रूपमा यो महाधिवेशनको आयोजना गरेको भए एजेण्डा तोक्न सक्थे। तर यो सदस्यहरूको मागमा भएको महाधिवेशन हो । यहाँ नीति पनि बदल्ने, नेता पनि बदल्ने माग गरिएको छ । म यहाँ आएको एक पाहुना मात्रै हुँ । भोलिको निर्णय मेरो लागि स्वीकार्य हुनेछ।’

उनले कांग्रेसमा प्रश्न नमर्ने परम्परा समाप्त भएको उल्लेख गर्दै, यहाँ नबोल भन्ने कोही नभएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?