कांग्रेस विशेष महाधिवेशनले यी यी विषयमा गर्दैछ विधान संशोधन

लोकपथ
413
Shares

काठमाडौं । आज आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनको मुख्य एजेन्डा पार्टीभित्र सुधार र विधान संशोधन रहेको छ । महामन्त्री विश्वप्रकाश शर्माले यसअघि प्रस्ताव गरेका विभिन्न विषयलाई नीति र विधानको रूप दिने विशेष महाधिवेशनको तयारी रहेको जनाइएको छ ।

जसअनुसार ठूलो संख्यामा केन्द्रीय कार्यसमितिको आकार विस्तार गरिने भएको छ । अहिले केन्द्रीय समिति १ सय ६८ सदस्यीय रहेकोमा त्यसलाई बढाएर ३ सय १ सदस्यीय बनाउने प्रस्ताव छ ।

यसअन्तर्गत ७७ जिल्लालाई प्रतिनिधित्व गर्ने ७७ जनासहित २ सय ६५ प्रत्यक्ष निर्वाचित, ३६ समावेशी तथा समानुपातिक व्यवस्थाअनुसार सभापतिबाट मनोनीत गरी कुल ३ सय १ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइनेछ । 

यसमा पनि २० प्रतिशत युवा (४० वर्षमुनिका) र १५ प्रतिशत पेसागत क्षेत्रको प्रतिनिधित्व अनिवार्य गर्ने प्रस्ताव गरिएको छ । साथै पार्टीका सबै संरचनामा महिलाको सहभागिता बढाइने उल्लेख छ । 

यसका अतिरिक्त केन्द्रमा ४० वर्षमुनिका युवाका लागि एक सहमहामन्त्री र पेसागत क्षेत्रबाट एक सहमहामन्त्री थप गरी दुई सहमहामन्त्रीको व्यवस्था गर्ने तयारी छ । प्रदेश कार्यसमितिमा पनि समानुपातिक आधारमा सहमहामन्त्री थप गर्ने गरी विधान संशोधन गरिनेछ ।

यस्तै, पार्टीमा पदाधिकारीका लागि एक, दुई, तीन र चार पटकको मोडल लागू गर्ने प्रस्ताव गरिएको छ । यसअनुसार राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने व्यवस्थालाई पार्टीको नीति बनाउने तयारी छ ।

यस्तै, समानुपातिक सांसद एक पटकभन्दा बढी हुन नपाउने, प्रत्यक्ष निर्वाचन जितेका तथा मन्त्री भइसकेकालाई समानुपातिक सांसद नदिने व्यवस्था विधानमै समेट्ने तयारी पनि छ ।

यस्तै, क्रियाशील सदस्यता केन्द्रमा नपठाई वडास्तरमै टुंग्याउने तथा महाधिवेशन प्रतिनिधि पनि वडाबाटै चयन हुने व्यवस्था गरिने भएको छ । विज्ञ तथा पेसागत क्षेत्रका व्यक्तिलाई पार्टीमा सिधै प्रवेशको अवसर दिने प्रस्ताव छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?