आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिएको छ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिनेछ ।

पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले चियापान समारोहको आयोजना गरेको छ । सो कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको राप्रपाले जनाएको छ ।

शाहको जन्मस्थान गोरखामा हरेक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै, नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेको छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक तथा भौगोलिक चुनौतीबिच जनताको सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरूलाई एकीकृत गरेका थिए । उनले २० वर्षको उमेरमा गद्दी आरोहण गरी आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गर्दै एकीकरण अभियान अघि बढाएका थिए । विसं १८३१ मा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवको स्मरण गराउँदै विविधताबिचको एकतालाई सुदृढ बनाउने प्रेरणा दिने विश्वास लिइएको छ । यस दिवसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्ररहितलाई प्राथमिकता दिनुपर्ने सन्देश दिने गर्दछ ।

शाहको एकीकरण अभियानका कारण नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता सुरक्षित रहँदै विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक बन्न सफल भएको इतिहासकारहरू बताउँछन् ।

उनले दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा उत्तिकै सान्दर्भिक मानिन्छन् । भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’को संज्ञा दिएका उनका विचार आज पनि कूटनीतिक दृष्टिले महत्त्वपूर्ण ठानिन्छन् ।

यस अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?