एमालेको दाबी : आफ्नै खुट्टामा उभिएर पनि देशको पहिलो र सशक्त पार्टी बन्छौँ

लोकपथ
406
Shares

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्यहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी पूर्ण रूपमा तयार रहेको बताएका छन् । 

उनीहरूले १६५ वटै प्रत्यक्ष निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिसको प्रक्रिया धमाधम अघि बढाएको र छिट्टै केन्द्रीय स्तरमा अन्तिम टुंगो लगाइने बताएका हुन् । 

नेताहरूले निर्वाचन वातावरण भयरहित र निष्पक्ष नभएको तथा सरकारले पर्याप्त तयारी नगरेको आरोप लगाएका छन् । 

यद्यपि लोकतान्त्रिक पार्टीका रूपमा निर्वाचनमा सहभागी हुने र राष्ट्रिय सभा बाहेक अन्यमा गठबन्धन गर्ने निचोडमा नपुगेको उनीहरूको भनाइ छ । 

प्रमुख दलहरूबिचको आन्तरिक विवादले निर्वाचन प्रक्रियामा असर परेको भन्दै नेपाली कांग्रेसलाई सहमतिमा आउन आग्रह गर्दै एमालेले आफूलाई राष्ट्रिय राजनीतिको सबैभन्दा लोकप्रिय शक्ति भएको दाबी गरे  । साथै, मुलुकमा बाह्य हस्तक्षेप भइरहेको भन्दै नेपाली जनताले आफ्नै सामर्थ्यमा निर्णय गर्न सक्ने जागरण आवश्यक बताएका छन् । 

एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको बताए । उनले निर्वाचनका प्रारम्भिक सबै काम सम्पन्न भइसकेको र १६५ वटै प्रत्यक्ष निर्वाचन क्षेत्रबाट उम्मेदवारको सिफारिस प्रायः प्राप्त भइसकेको जानकारी दिए । भट्टराईले छिट्टै केन्द्रीय सचिवालय बैठक बसेर उम्मेदवारको अन्तिम टुंगो लगाइने बताउँदै वर्तमान सरकार संवैधानिक व्यवस्थाअनुसार गठन नभएको आरोप लगाए । उनले एमाले आफ्नै खुट्टामा उभिएर पनि देशको पहिलो र सशक्त पार्टी बन्न सक्ने दाबी गरे ।

उनले भने, ‘नेकपा एमाले निर्वाचनमा गइसक्यो । पहिलादेखि नै हामी तयारीमा छौँ । निर्वाचनका प्रारम्भिक सबै काम सम्पन्न गरेर आएको हो । महाधिवेशनअघि पनि देशव्यापी जनपरिचालनको काम गरेका थियौँ । त्यो पनि निर्वाचनको माहोल बनाउने काम थियो । महाधिवेशनपछि पनि हामी निर्वाचनका औपचारिक कामहरूमा प्रवेश गरिसकेका छौँ । अहिले हामी प्रत्यक्ष निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रबाट नै उम्मेदवारको सिफारिस मागिसकेका छौँ । प्रायः सबै ठाउँबाट आइसकेको छ । अब छिटै केन्द्रीय सचिवालय बैठक बसेर उम्मेदवारको टुंगो लगाउने काम गर्नेछौँ । यो सरकारको गठन संवैधानिक व्यवस्थाअनुसार भएको होइन । हामी आफ्नो खुट्टामा उभिएर पनि पहिलो र सशक्त पार्टी बन्नसक्छौँ ।’

नेकपा (एमाले) का सचिव महेश बस्नेतले निर्वाचनको वातावरण भयरहित, स्वतन्त्र र स्वच्छ नरहेको बताए । उनले यस्तो अवस्थामा पनि लोकतान्त्रिक पद्धति आत्मसात गरेको पार्टीका रूपमा एमाले निर्वाचनमा सहभागी हुने स्पष्ट पारे । बस्नेतले राष्ट्रिय सभा बाहेक अन्य निर्वाचनमा मोर्चा बन्दी वा गठबन्धन गर्ने निचोडमा पार्टी नपुगेको बताउँदै एमालेको विरुद्ध पपुलिजममा रमाउने तत्वहरू एक ठाउँ उभिएको आरोप लगाए । साथै वर्तमान प्रतिगमन आफूहरूले सोचे भन्दा चाँडै सकिने अवस्थामा पुगेको उनको भनाइ छ ।

उनले भने, ‘भयरहित, स्वतन्त्र र स्वच्छ निर्वाचन हुन्छ भन्ने परिस्थिति छैन । तर निर्वाचन जहिले हुन्छ, लोकतान्त्रिक पद्धति आत्मसात गरेको पार्टी निर्वाचनबाट भाग लिन्छ । राष्ट्रिय सभा बाहेक अरू चुनावमा मोर्चा बन्दी गर्ने, गठबन्धन गर्ने निचोडमा हामी पुगिसकेका छैनौँ । बरु हाम्रा दलका विरुद्ध पपुलिजममा रमाएका तत्त्वहरू एक ठाउँमा उभिएका छन् । यो प्रतिगमन हामीले सोचे भन्दा चाँडै सकिने अवस्थामा छ ।’

नेकपा (एमाले) का नेता महेश बर्तौलाले निर्वाचन आयोगको तालिकाअनुसार पार्टीले आफ्नो सबै काम पूरा गरिसकेको बताए ।  

उनले फागुन २१ गते निर्वाचन सम्पन्न गराउने सामर्थ्य सरकारसँग नरहेको र देश निर्वाचनमय हुनुपर्नेमा त्यस्तो वातावरण नबनेको बताए ।  

बर्तौलाले केही शक्तिहरूले निर्वाचनको माध्यमबाट विध्वंस र अराजकतालाई वैधानिकता दिन खोजेको तथा विभिन्न षड्यन्त्र भइरहेको दाबी गरे ।  उनले सरकारले निर्वाचन गराउने हो भने निर्भयता र निष्पक्षताको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए  । 

उनले भने, ‘फागुन २१ गते निर्वाचनको कुरा गर्दै गर्दा निर्वाचन आयोगले तयार गरेको तालिका बमोजिम नेकपा एमालेले आफूले गर्नुपर्ने काम पूरा गरिसकेको छ । आजको दिनमा पनि फागुन २१ गते निर्वाचन सम्पन्न गराउने सामाथ्र्यका साथ यो सरकारले काम गरिरहेको छैन । अहिले त सिंगो देश निर्वाचनमय भइसक्नुपर्ने हो । तर त्यस्तो देखिएको छैन । केही शक्तिहरूले अहिले पनि निर्वाचनको माध्यमबाट विध्वंस र अराजकतालाई वैधानिकता दिन खोजिरहेका छन् । कयौँ षड्यन्त्र भइरहेका छन् । सरकारले निर्वाचन गराउने हो भने निर्भयता र निष्पक्षताको सुनिश्चितता गराउनुपर्छ ।’

नेकपा (एमाले) का नेता दामोदर भण्डारीले प्रमुख राजनीतिक दलहरू निर्वाचन अभियानमा केन्द्रित हुनुपर्ने बेलामा ठुलो पार्टीभित्रको किचलो स्वीकार्य नभएको बताए । उनले यस्तो विवाद पहिल्यै मिलाउनुपर्नेमा जोड दिँदै नेपाली कांग्रेसलाई सहमतिबाट समस्या समाधान गर्न आग्रह गरे ।

भण्डारीले दलहरूबिचको विभाजनको दिशातर्फको यात्राले देशलाई नै क्षति पुग्ने चेतावनी दिए । उनले एमाले राष्ट्रिय राजनीतिको सबैभन्दा लोकप्रिय पार्टी रहेको दाबी गर्दै उम्मेदवारहरूको नाम सिफारिस भइसकेको जानकारी दिए । साथै, मुलुकको राजनीतिमा बाह्य हस्तक्षेप भइरहेको भन्दै नेपाली जनताले आफ्नै सामर्थ्यमा निर्णय गर्न सक्ने क्षमता भएकोमा जागरूक हुनुपर्ने बताए । 

उनले भने, ‘प्रमुख पार्टी चुनावी मुभमेण्टमा सामेल हुनुपर्ने हो । चुनावको वातावरण नबनिरहेको बेलामा ठुलो पार्टीको किचलो स्वीकार्य छैन । त्यो पहिला नै मिलाउनुपर्ने हो । निर्वाचनको वातावरण अझ अघि बढ्थ्यो । यसले अझै प्रमुख पार्टीहरू विभाजनको दिशातर्फ उन्मुख हुँदा देशलाई नै नोक्सान पुग्ने हो । यो विषयलाई नेपाली कांग्रेसले सहमतिबाट टुंग्याउनुपर्छ । एमाले राष्ट्रिय राजनीतिको सबैभन्दा लोकप्रिय पार्टी हो । उम्मेदवारका नामहरू सिफारिस भएका छन् । मुलुकको राजनीतिमा बाह्य हस्तक्षेप भइरहेको छ, हाम्रो सामर्थ्यमा आफ्नो फैसला नेपाली जनताले आफैँले गर्न सक्छन् भन्नेमा जागरूक गर्नुपर्छ ।’

नेकपा एमालेले फागुन २१ को निर्वाचनमा एक्लै लडेर पनि देशको पहिलो शक्ति बन्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?