काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूको पुनरागमन भएपछिका राजनीतिक परिदृश्यप्रति गम्भीर चेतावनी दिएका छन् ।
एमालेको शनिबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले विध्वंसका पक्षधरहरू एकजुट भएको टिप्पणी गरेका हुन् ।
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन्द्र साह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको एकता लक्षित गर्दै भने, ‘धम्की, घृणा, निषेध र हिंसाका माध्यमबाट लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन नसकेपछि भदौ २४ को विध्वंसलाई वैधता दिने शक्तिहरू अब एक ठाउँमा उभिन खोजिरहेको अवस्थामा छन् ।’
उनले भने, ‘राजनीतिक ध्रुवीकरण पुराना दल र नयाँ दलबिच नभई भदौ २४ को विध्वंसलाई वैधता दिने कि नदिने भन्ने सवालमा केन्द्रित भएको छ । लोकतन्त्र राजनीतिक दलहरूको भूमिकाबाट मात्र बलियो हुन्छ । तर अहिले विचारविहीन, सार्वजनिक जवाफदेहिताविहीन र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरू लोकतान्त्रिक प्रणाली, विचार र संस्थालाई चुनौती दिइरहेका छन् ।’
ओलीले पपुलिज्म र विध्वंसलाई अग्रगामी विकल्प नभएको भन्दै चेतावनी दिए । उनका अनुसार पपुलिज्मले मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणाली कमजोर पार्ने, समाजमा निराशा सिर्जना गर्ने र भूराजनीतिक जोखिम निम्त्याउने सम्भावना छ ।
अध्यक्ष ओलीले जनतालाई भ्रममुक्त राख्नुपर्नेमा जोड दिँदै भने, ‘भदौ २४ को विध्वंसको जगमा खडा भएर लोकतन्त्र र संविधानलाई कमजोर गर्न खोज्ने पपुलिष्ट र पथभ्रष्ट तत्त्वहरूबाट सचेत हुन जरुरी छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया