विशेष महाधिवेशनबारे पूर्वन्यायाधीश ईश्वर खतिवडाको टिप्पणी, कांग्रेसलाई सुझाए यी कुरा

लोकपथ
504
Shares

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिका विषयमा टिप्पणी गरेका छन् ।

पूर्वन्यायाधीश खतिवडाले सामाजिक सञ्जालमा लेख्दै आफू कुनै पनि दलको नेता र कार्यकर्ता नभएको स्पष्ट पार्दै मुलुकको राजनीतिप्रतिको जिज्ञाशा सदैव रहने भन्दै टिप्पणी गरेका हुन् ।

विशेष महाधिवेशनको गोलचक्करमा घुमिरहेको कांग्रेसमा नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशनको विषय स्वभाविक उठ्ने बताए । विधिसम्मत् ढंगबाट विशेष महाधिवेशनको माग भएपछि सोही अनुसार अघि बढ्नुपर्ने लोकतान्त्रिक दलको कर्तव्य रहेको समेत स्पष्ट पारेका छन् ।

साथै संस्थापन समूहको स्वार्थ, अहम र फरक विचारलाई दबाउने र दमन गर्ने अलोकतान्त्रिक हठकै कारणबाट विशेष महाधिवेशनलाई छल्न र बिथोल्न खोजिएको टिप्पणी समेत गरेका छन् ।

‘यो कस्तो लोकतन्त्र हो ? विधिसम्मत् रुपमा विशेष महाधिवेशनको माग भएपछि विशेष महाधिवेशन गरिनु आवश्यक र अनिवार्य थियो । संस्थापन समुहको स्वार्थ, अहम् र फरक विचारलाई दवाउने र दमन गर्ने अलोकतान्त्रिक हठको कारणबाट विशेष महाधिवेशनलाई छल्न र विथोल्न खोजियो,’ उनले भनेका छन् ।

पूर्वन्यायाधीश खतिवडाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेकाहरुलाई हस्ताक्षर फिर्ता लिनदेखि विशेष महाधिवेशनमा समेत नआउने संस्थापनको तारन्तारको विज्ञप्तिबारे समेत टिप्पणी गरेका छन् । उनले त्यसलाई लोकतान्त्रिक मूल्यमान्यता विपरितको कदम भनेका छन् ।

‘नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेछ । यो खवर सुनेर अचम्म लाग्यो । विधिसम्मत रुपमा हुनु पर्ने महाधिवेशन हुन नदिने गरी सुरुदेखि भएका कार्य लोकतान्त्रिक मूल्य मान्यता प्रतिकूलको कदम हो । अहिले आएर हस्ताक्षर फिर्ता लिन लगाउने भनी गरिएको निर्णय महाधिवेशन प्रतिनिधि र आम कार्यकर्ताहरुलाई दिईएको अनुचित दवाव र धम्की पनि हो,’ उनले भनेका छन् ।

लोकतान्त्रिक पार्टीको महाधिवेशनका सन्दर्भमा अलोकतान्त्रिक चरित्र देखाएको भन्दै त्यसले देशको भविष्य कसरी निर्धारण हुन्छ भन्ने चासो सँधै रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?