युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा जाने कार्यक्रम स्थगित 

लोकपथ
126
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने कार्यक्रम स्थगित गरेका छन् । 

भिसालगायतका प्रक्रियाका लागि समय लाग्ने भएको भन्दै मन्त्री गुप्ताले अमेरिका भ्रमणमा जाने कार्यक्रम रद्द गरेको मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालले बताए । 

‘भिसालगायतका प्रक्रियाका लागि समय लाग्ने भयो, त्यसैले समय अपुग भएकाले उहाँ अहिलेका लागि अमेरिका जानु हुन्न,’ उनले भने । 

अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिने निर्णय गरेपछि यसले विशेष चर्चा पाएको थियो । 

यसअघि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको प्रस्ट पारेका थिए । 

मन्त्री गुप्ताले एक कार्यक्रममा अमेरिका भ्रमणमा जान लागेको भनी मन्त्रिपरिषद् बैठकबाटसमेत स्वीकृति लिइसकेको अवस्थामा उनको भ्रमणलाई लिएर विभिन्न समाचार सार्वजनिक भएपछि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले उनलाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको प्रस्ट पारेको थियो । 

परिषद्का प्रवक्ता सन्देश उप्रेतीले एक विज्ञप्ति जारी गरेर अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको स्पष्ट पारेका थिए ।

विज्ञप्तिमा उनले भनेका थिए, ‘गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं, साथै, परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन ।’

प्रवक्ता उप्रेतीले परिषद् कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम र कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको पनि स्पष्ट पारेका थिए । उनले भनेका थिए, ‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन (फन्डराइजिङ) या गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिने छन् ।’

प्रवक्ता उप्रेतीले परिषद्को नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति र समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने पनि विज्ञप्तिमा उल्लेख गर्दै भनेका थिए, ‘यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिहरू सम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने छ ।’

यता, अमेरिकाबाट एक विज्ञप्ति जारी गर्दै विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए अमेरिका प्रवक्ता द्रोण गौतमले ‘अमेरिकाको डालसमा कार्यक्रम आयोजना गर्ने भनिएको तर विस्तृत विवरण र सेड्युल तयार नभएको’ बताएका थिए ।

विज्ञप्तिमा उनले ‘मन्त्रीको खर्च आयोजकले नै व्यहोर्ने’ पनि लेखेका थिए । ‘कार्यक्रममा सहभागी हुनका लागि लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने निर्णय गरिएको छ । जसबाट नेपाल सरकार वा राज्यलाई कुनै पनि प्रकारको आर्थिक व्ययभार नपर्ने स्पष्ट पार्न चाहन्छौं, माननीय मन्त्रीज्यूको कार्यतालिकाअनुसार टेक्ससको डालसमा आयोजना गरिने भनिएको सो कार्यक्रमको विस्तृत विवरण, सेड्युल अन्तिम भएपछि सार्वजनिक गरिने छ,’ विज्ञप्तिमा उल्लेख थियो ।

आयोजकले विज्ञप्तिमार्फत ‘कार्यक्रम कहिले हुने ?’ भन्ने विषयमा केही उल्लेख गरेका थिएनन् । तर, मन्त्री गुप्ताले भने ‘आगामी ३ माघमा आयोजना हुने कार्यक्रममा सहभागी हुने’ भन्दै मन्त्रिपरिषद्को सोमबारको बैठकबाट भ्रमण स्वीकृत गराएका थिए । 

गृहमन्त्रीलाई अध्यागमनद्वारा ध्यानाकर्षण

मन्त्री गुप्ता सहभागी हुने भनिएको अमेरिकाको कार्यक्रमका लागि नेपालबाट अरू व्यक्ति पनि सहभागी हुन लागेको आशंकामा अध्यागमन विभागदेखि गृह मन्त्रालयसम्मले चासो देखाएका थियो । अध्यागमन अधिकारीले सम्भावित कार्यक्रम र त्यसमा सहभागी हुने भनिएका व्यक्ति’बारेमा चासो लिन गृहमन्त्री ओमप्रकाश अर्यालसम्मको ध्यानाकर्षण गराएका थिए । ‘यस्ता कार्यक्रममा मन्त्रीको मात्रै भ्रमण स्वीकृति भए पनि कार्यक्रममा सहभागी हुने नाममा अन्य व्यक्ति पनि हुन सक्नेतर्फ सजग हुन सम्बन्धित निकायमा रिपोर्टिङ गरेका छौं,’ अध्यागमनका एक उच्च अधिकारीले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?