राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प हो : कृष्ण सिटौला

लोकपथ
287
Shares

 काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा आएको परिणाम स्वीकार गर्दै अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय सबैले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे । अहिले पार्टीभित्र परस्पर प्रतिस्पर्धा गर्ने समय नभएको उल्लेख गर्दै उनले कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जानुपर्नेमा जोड दिए ।

पार्टीभित्र देखिएको वर्तमान अवस्था राम्रो नभएको बताउँदै सिटौलाले केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन गरेर एकता कायम गर्न आफूहरू लागिपरेको बताए । उनले विशेष महाधिवेशन आजको आवश्यकता नभएको स्पष्ट पारे ।

सिटौलाले भने, ‘पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो । यतिबेला पार्टीभित्र नेता र साथीहरूबिच प्रतिस्पर्धा गर्ने बेला होइन । निर्वाचनमा पार्टी एकताबद्ध भएर जानुपर्ने समय हो ।

उनले अहिले देखिएको परिस्थिति उपयुक्त नभएको स्वीकार गर्दै राजनीति भएकाले परिणाम जे आए पनि स्वीकार गरेर अघि बढ्नुपर्ने बताए । विशेष महाधिवेशनभन्दा पनि निर्वाचनमा पार्टीभित्र पूर्ण समझदारी र तयारी आवश्यक रहेको उनको भनाइ थियो ।

सिटौलाले पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य भएको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा पार्टीभित्र खैलाबैला हुनु उचित नभएको धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?