काठमाडौं । निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले आज शुक्रबार नै प्रधानमन्त्री सुशीला कार्कीसँग आचारसंहिता लागू हुने मितिबारे जानकारी गराउने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, प्रधानमन्त्री कार्कीसँग आयोगको टोलीले ३ बजे भेट्न समय मागेका छन् ।
आयोगले माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने दिनबाट नै आचारसंहिता लागू गर्न लागेको हो । माघ २ गते देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतको कार्यालय खुल्दै छन् । माघ ६ गते प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ ।
आचारसंहिता लागू भएपछि सरकारले नियुक्ति, सरुवा बढुवालगायतका काम गर्न निर्वाचन आयोगको परामर्श लिनुपर्छ भने बजेटमा तोकिएको बाहेक अन्य रकम विनियोजन गर्न पनि पाउने छैन । त्यसैले सरकारलाई आयोगले आचारसंहिताको विषयमा जानकारी गराउने प्रचलन रहँदै आएको छ ।
आयोगले पुस १२ गते आचारसंहिता स्वीकृत गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया