काठमाडौं । नेपाली कांग्रेस निकट १७ भ्रातृ संगठनले पार्टीभित्र देखिएको संकट समाधानका लागि एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् ।
पार्टीभित्र महाधिवेशनको विषय पेचिलो बनेका बेला विभिन्न १७ भ्रातृ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।
‘पछिल्लो समय देशमा आएको राजनैतिक संकट र नेपाली कांग्रेसमा देखिएको राजनीतिक तिक्तता नजिकबाट नियालीरहेका छौँ । हालको अवस्थामा देश र जनतालाई संकटमुक्त गर्न एकढिक्का भएर अघि बढ्न सबैमा आह्वान गर्दछौँ । नेपाली कांग्रेसका सभापति पदाधिकारीहरु तथा सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण गराउन चाहन्छौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख अन्तिम साता नियमित महाधिवेशनको मिति तोकेको बताउँदै त्यसको विकल्प नरहेको समेत निष्कर्ष निकालिएको छ । निर्वाचन नजिकिँदो रहेको अवस्थामा पार्टी एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
‘नियमित महाधिवेशनको मिति वैशाख २८ गतेदेखि ३१ गतेसम्मका लागि तोकिसकेको र फागुन २१ गते आम निर्वाचन सम्पन्न हुन गइरहेको परिप्रेक्षमा पार्टी एक ढिक्का भई अघि बढ्नुको विकल्प छैन,’ जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त पत्रमा नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल लगायतका भ्रातृ संगठनले सहमति जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया