निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व हुनेछ : सञ्चारमन्त्री खरेल

लोकपथ
91
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व रहने दाबी गरेका छन् ।

शुक्रबार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले तोकिएको मितिमै निर्वाचन हुने र त्यसपछि बन्ने संसद् तथा सरकारमा युवाहरूको उल्लेख्य सहभागिता रहने आँकलन गरेका हुन् ।

उनले युवाहरूको नेतृत्व र सहभागिताले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । संसद् र सरकार दुवै तहमा युवाहरूको वर्चश्व हुनु मुलुकका लागि खुसीको विषय भएको उनको भनाइ थियो ।

मन्त्री खरेलले भने, ‘फागुन २१ मा चुनाव हुन्छ । चुनावपछि जुनसुकै पार्टीबाट आए पनि संसद् वा सरकारमा युवाहरूको वर्चश्व हुनेवाला छ । सबै पार्टीले युवाका लागि कोटा तोकेका छन्, यही हाम्रो आशा गर्ने आधार हो ।’

उनले युवाहरू संसद्का समिति र सरकारमा पुग्दा सूचना तथा प्रविधिको विकासलाई प्राथमिकतामा राखेर आवाज उठ्ने विश्वाससमेत व्यक्त गरे । ‘नेपाल बनाउने हो भने अब आईसीटीतर्फ नबढी हुँदैन भन्ने सोच युवाहरूबाट आउनेछ,‘उनले भने ।

मन्त्री खरेलले सीमित स्रोत र साधनका कारण सूचना प्रविधि विभागले चाहे जति काम गर्न नसकेको स्वीकार गर्दै आफू पनि त्यसबारे सचेत रहेको बताए । स्रोत र साधनको अभावमा मातहतका निकायलाई प्रभावकारी रूपमा निर्देशन दिन कठिन भएको उनले उल्लेख गरे ।

यद्यपि, उपलब्ध स्रोतभित्र रहेर काम अघि बढाउन आफू विभागसँग सहकार्य गरेर लाग्ने प्रतिबद्धता पनि मन्त्री खरेलले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?