काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टी एकताबद्ध भएर आगामी निर्वाचनमा जाने दाबी गरेका छन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको समयताका काठमाडौंमा भेला भएका संस्थापन पक्षधर नेताहरूले यस्तो बताएका हुन् ।
उनीहरूले निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशन गर्ने समय नरहेको बताएका छन् । आम निर्वाचन नजिकिएकाले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु बुद्धिमानी हुने उनीहरूको निष्कर्ष छ ।
कांग्रेस नेता शिव हुमागाईँले निर्वाचनको समय आइसकेकाले पार्टीभित्र देखिएका समस्या समाधान गरेर अघि बढ्नु आवश्यक रहेको बताए । उनले आन्तरिक विवाद समाधानका लागि छलफल भइरहेको र शनिबारसम्म निकास निस्कने दाबी गरे ।
उनका अनुसार प्रक्रियागत रूपमा सबै पक्षसँग छलफल गरेर नयाँ रणनीतिका साथ कांग्रेस अघि बढ्ने तयारी भइरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति कुनै असन्तुष्टि नरहे पनि महामन्त्री पदले सबैलाई विश्वासमा लिएर अघि बढ्ने भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
हुमागाईँले नेपाली राजनीतिमा प्रायः निर्णय अन्तिम क्षणमा हुने गरेको उल्लेख गर्दै निर्वाचनको मुखमा कांग्रेसलाई विभाजनको संघारमा पुर्याउन नहुने स्पष्ट पारे ।
उनले भने, ‘निर्वाचनको सेड्युल अघि बढिसकेको छ । यस्तो बेलामा पार्टीभित्रको समस्या समाधान गरेर सबैलाई एकढिक्का बनाएर अघि बढ्नुपर्छ । नेपाली कांग्रेस कुनै पनि हालतमा फुट्दैन, एकताबद्ध भएर चुनाव फेस गर्छ ।’
अर्का नेता मदनकृष्ण श्रेष्ठले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेताहरूले समेत नियमित महाधिवेशन समयमै गर्नुपर्ने माग गरेकाले सोहीअनुसार निर्णय भएको बताए । निर्वाचनअघि महाधिवेशन गर्न सम्भव नरहेकाले चुनावपछि गर्नुपर्ने धारणा धेरै सदस्यहरूको रहेको उनले बताए ।
उनले दुई महिना ढिलाइ हुँदैमा ठुलो आपत्ति जनाउनुपर्ने अवस्था नरहेको भन्दै नेपाली कांग्रेस कुनै पनि हालतमा नफुट्ने र एकताबद्ध भएर अघि बढ्ने दोहोर्याए ।
नेताहरूले कांग्रेस विधानअनुसार एक वर्ष समय थप गर्न सकिने व्यवस्था रहेकाले वैशाखमा नियमित महाधिवेशन गर्नु अवैधानिक नहुने तर्क पनि गरेका छन् । साथै, क्रियाशील सदस्यताको काम समयमै सम्पन्न भएको भए पुसभित्रै महाधिवेशन गर्न सकिने अवस्था रहेको उनीहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया