एमालेसँग मिल्ने कुरा पार्टीपंक्ति र जनताले मन पराएका छैनन् : अग्नि सापकोटा

लोकपथ
329
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीभित्र र आम जनताबिच लोकप्रिय नभएको बताएका छन् ।

उनले राजनीतिक दलहरूबिच सहकार्य स्वाभाविक भए तापनि आम नागरिकले यसलाई सकारात्मक रूपमा नलिएको बताए ।

सापकोटाले भने,‘राष्ट्रिय सभा निर्वाचनमा नेकपाले मतभारको आधारमा सिट बाँडफाँडको प्रस्ताव अघि सारेको भए पनि कांग्रेस–एमाले त्यसका लागि तयार नभएको हो ।’ उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा कुनै पनि दलसँग सहकार्य नगर्ने स्पष्ट पारे ।

उनका अनुसार राष्ट्रिय सभा सदस्यमा कांग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टी पंक्ती र आम जनताले मन पराइरहेका छैनन् । प्रतिनिधिहरूले चुन्ने राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण हामी स्वतन्त्र ढंगले चुनाव लड्न चाहन्छौँ । आम जनताबाट पनि त्यसै सुझाव आएको छ ।

सापकोटाले विगतमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान स्थापित हुन नसकेको स्वीकार गर्दै, नेकपा मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेण्डा पनि अघि बढाउँदै आएको बताए । 

उनले हालै एकतामा आएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र रास्वपामा विचार र दृष्टिकोणमा खडेरी रहेको टिप्पणी पनि गरे ।

उनले नेपाली कांग्रेसभित्रको महाधिवेशन सम्बन्धी विवादले नेकपा वा राष्ट्रिय राजनीतिमा तत्काल प्रभाव नपर्ने उल्लेख गर्दै, पार्टी विभाजन हुनुभन्दा एकताबद्ध हुनु लाभदायक हुने बताए ।

सापकोटाले सर्वोच्च अदालतले विचाराधीन संसद् विघटनसम्बन्धी मुद्दा छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए । तर, उनका अनुसार अहिलेको राजनीतिक संकटको निकास निर्वाचनबाट मात्रै सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?