कांग्रेसका २५ केन्द्रीय सदस्यहरूको विशेष अपिल : ‘विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद गर’

लोकपथ
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन् ।

आज बिहान कुपण्डोलमा भएको छलफलपछि विज्ञप्ति जारी गर्दै सो समूहले यस्तो अपिल गरेको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं ।’

उनीहरूले प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउन जरुरी रहेको जोड दिँदै परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने अवस्था रहेको पनि विज्ञप्तिमार्फत स्मरण गराएका छन् ।

निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको यो समूहले पुस २२ गते पनि नेता डा. शेखर कोइरालासँग छलफल गरेको थियो । यसअघि पुस १८ गते सभापति शेरबहादुर देउवालाई भेटेको थियो । सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको यो समूह १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?