काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।
बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री निवास बालुवाटार पुगर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।
करिब ३ घण्टा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा आगामी निर्वाचनका विषयमा कुरा भएको हो ।
भेटमा प्रधानमन्त्री कार्कीले देशमा निर्वाचनको माहोल बनेको भन्दै उत्साहपूर्ण ढंगले सहभागि हुन आग्रह गरेकी थिइन् । यता ओलीले भने आफूहरु निर्वाचनको तीव्र तयारीमा रहे पनि अझै निर्वाचनको वातावरण बन्न नसकेको दाबी गरेका थिए ।
जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारमाथि ओली निरन्तर कटाक्ष गरिरहेका छन् । सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै सर्वोच्चले प्रतिनिधि सभा पुनस्थापना गर्ने समेत ओलीको दाबी छ ।
यसअघि राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्की र अन्य दलका शीर्ष नेताहरुको भेट भएको थियो । भेटमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की, ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रहेका थिए । यो नै प्रधानमन्त्री कार्कीसँग ओलीको पहिलो र एक्लाएक्लै भेट हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया