सुनसरी पुग्यो सशस्त्र प्रहरीको झण्डा मार्चपास 

लोकपथ
532
Shares
फाइल तस्बिर

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्चपास सुनसरी पुगेको छ । 

सशस्त्र प्रहरी बल नेपालको पूर्वी टोलीले झापाको काँकडभिट्टाबाट थालेको झण्डा मार्चपास मोरङ हुँदै सुनसरी पुगेको हो । 

मोरङको सीमानाका हुँदै बिहीबार बिहान सीमा इलाका केशल्या पुल पुगेको मार्चपास टोलीले सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ । 

मोरङ, सुनसरी सीमा इलाका बर्जु ३ अमडुवाको केशल्या खोला पुलमा नम्बर ३ गण हेड क्वाटर कंकालिनी मोरङले नम्बर ४ गण हेड क्वाटर सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ । नम्बर ३ गण मोरङका एसपी राजेश घिमिरेले हस्तान्तरण गर्नुभएको झण्डा नम्बर ४ गण सुनसरीका एसपी ज्ञानमणि पौडेलले बुझ्नु भएको थियो । 

झण्डा बुझेपश्चात नम्बर ४ गण हेड क्वाटर सुनसरीले सीमानाका केन्द्रित मार्चपासलाई अघि बढाएको छ । सुनसरीको ६२ दशमलन ९ किलोकिलोमिटर सीमा क्षेत्रको मार्चपास पश्चात् भोलि साँझ कोशी ब्यारेजमा प्रदेश टोली बिच झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ । 

सशस्त्र प्रहरी बल नेपालले संगठनको २५औँ रजत महोत्सवको अवसरमा देशव्यापी झण्डा मार्चपास गरिरहेको छ । 

राष्ट्रिय झण्डा र संगठनको झण्डा बोकी थालिएको देशव्यापी मार्चपासकाकालागि सशस्त्र प्रहरीले पूर्व र पश्चिम गरी दुई मार्चपास टोली परिचालन गरेको छ । 

पूर्वी टोलीले झापाको काँकडभिट्टा र पश्चिम टोलीले कञ्चनपुरको गड्डाचौकीबाट झण्डा मार्चपास थालेको थियो । दुवै टोलीको मिलन बिन्दु भने पर्साको ठोरी कायम गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?