काठमाडौं । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले नेपालको आर्थिक भविष्य सुनिश्चित गर्न युरोपेली संघ (ईयू) सँगको व्यापारिक तथा लगानी सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
उनले नेपाल र युरोपेली संघबिच ऐतिहासिक रूपमा रहँदै आएको सम्बन्धलाई अब बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने धारणा राखे ।
नेपाली र युरोपेली व्यावसायिक समुदायलाई एउटै मञ्चमा ल्याएर लगानीकर्ताबिचको सम्बन्ध सुदृढ बनाउनु तथा व्यापारमा देखिएका अवरोधहरू फुकाउनु आजको आवश्यकता भएको मन्त्री सिन्हाको भनाइ थियो ।
नेपालको विकास भिजन निजी क्षेत्रले नेतृत्व गरेको दिगो आर्थिक वृद्धिमा आधारित हुनुपर्ने उल्लेख गर्दै मन्त्री सिन्हाले सरोकारवालाहरूबीच संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने, ‘नेपालको आर्थिक भविष्यसँग जोडिएका महत्त्वपूर्ण विषयमा सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर संवाद गराउने यो पहल प्रशंसनीय छ । यसले नेपाल र युरोपेली संघबीच अनादिकालदेखि रहँदै आएको घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुर्याउनेछ । निजी क्षेत्रलाई प्रोत्साहन गर्दै दिगो आर्थिक विकासको बाटो रोज्नुपर्छ, जसले समृद्ध नेपाल निर्माणको साझा लक्ष्य हासिल गर्न सहयोग पुर्याउँछ ।’
कार्यक्रमले नेपाल ईयू व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन तथा वैदेशिक लगानी आकर्षित गर्न आवश्यक नीतिगत सुधारका विषयमा स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया