सरकारले खोल्यो म्यादी निर्वाचन प्रहरी भर्ना, माघ १० सम्म आवेदन

लोकपथ
308
Shares

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी निर्वाचन प्रहरी भर्ना खुलाएको छ ।

निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सरकारले १ लाख ३३ हजार ९ सय ८० जना म्यादी निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको हो । 

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि–२०८२ अनुसार भर्ना प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ ।

निर्वाचन प्रहरीमा सहभागी हुन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन आह्वान गरिएको छ । 

नेपाल प्रहरीका अनुसार माघ ९ गतेभित्र उम्मेदवार छनोट गरिनेछ भने माघ १५ गतेदेखि प्रशिक्षण सुरु हुनेछ ।

भर्ना प्रक्रियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरूले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । साथै २०८२ पुससम्म सेना, प्रहरी तथा सशस्त्र प्रहरीमा आवेदन दिएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ ।

यसअघि निर्वाचनमा सहभागी भइसकेका पूर्व म्यादी प्रहरी तथा विदेशी फौजमा कार्य अनुभव भएका व्यक्तिहरूलाई समेत प्राथमिकतामा राखिएको छ ।

शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट र महिला उम्मेदवारको ४ फिट १० इन्च तोकिएको छ । महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने प्रावधान पनि लागू गरिएको छ ।

निर्वाचनको शान्ति, सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?