कुलमान भन्छन् : म कुनै दलको सदस्य छैन, जिम्मेवारीबाट भाग्न राजीनामा दिएको होइन

लोकपथ
147
Shares

काठमाडौं । अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफूले दिएको राजीनामा भाग्न वा जिम्मेवारीबाट पन्छिनका लागि नभई आत्मसम्मान, नैतिकता र सिद्धान्तप्रतिको प्रतिबद्धताका आधारमा भएको स्पष्ट पारेका छन् ।

बुधबार पदबाट राजीनामा दिँदै मन्त्री घिसिङले पदमा रहँदा मात्र होइन, पदबाट बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य भएको बताए । कुर्सीभन्दा माथि आत्मसम्मान र पदभन्दा ठुलो मूल्य तथा सिद्धान्त हुने उनको भनाइ थियो ।

उज्यालो पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबिच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि उक्त सहमति हालसम्म कार्यान्वयनमा नआएको उनले जानकारी दिए । आफ्ना समर्थक र शुभेच्छुक हुँदाहुँदै पनि अहिलेसम्म आफूले कुनै राजनीतिक दलको सदस्यता नलिएको स्पष्ट गर्दै राजनीतिक जीवनमा प्रवेश गरेपछि मात्र सदस्यता लिने अडान रहेको बताए ।

राजीनामा दिएपछि उक्त पदमा ‘आफ्ना मान्छे’ नियुक्त गर्न दबाब दिएको भन्ने विषयमा नियोजित रूपमा भ्रामक समाचार प्रचार गरिएको भन्दै उनले आपत्ति जनाए । सत्य सधैँ प्रचारभन्दा बलियो हुने उनको जिकिर थियो । पदमा रहँदै निर्वाचन लड्ने अभ्यास नेपालमै विगतदेखि रहेको उल्लेख गर्दै आफूले मन्त्री हुँदा पदभन्दा जनतालाई प्राथमिकता दिएर काम गरेको दाबी गरे ।

मन्त्री घिसिङले छोटो समयमा पनि महत्त्वपूर्ण नीतिगत सुधारहरूको बलियो जग बसालिएको बताए । 

इमान्दार प्रयास गरे परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास जनतामा जगाउन सफल भएको उनको भनाइ थियो । 

साथै, सुशासनको आधार निर्माणमा आफूहरू सफल भएको दाबी गर्दै नवीनतम यान्त्रिक प्रविधिको प्रयोगमार्फत सिँचाइ सुविधा विस्तार गरिएको जानकारी दिए ।

उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय १५ दिनपछि पदबाट राजीनामा दिएको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?