कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

लोकपथ
245
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष केन्द्रीय महाधिवेशन आव्हान गरेका छन् । 

उनीहरूले आज संयुक्त विज्ञप्तिमार्फत कांग्रेसको विधानअनुसारको व्यवस्था उल्लेख गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले दर्ता गराई यही पुस २७ र २८ गते तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा अपरिहार्य र बाध्यकारी बनेको उल्लेख गरेका छन् । 

यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २ हजार ४ सय ८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय भएको विज्ञप्तिमा उल्लेख छ  ।  

केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर आफूहरूले अधिकतम प्रयास गरेको तर केन्द्रीय कार्यसमितिबाट त्यो सम्भव हुन नसकेको उनीहरूको भनाइ छ ।

“बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ । पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिकोतर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो,” विज्ञप्तिमा भनिएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले विधानको धारा ३(१२) तथा धारा २७ (१) समेतको व्यवस्थालाई आत्मसात् गर्दै कांग्रेसको विधानको धारा १७ (२) अनुसार यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् । 

साथै उनीहरूले विशेष महाधिवेशन ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ हो भन्दै आफूहरू पार्टीमा नयाँ ऊर्जा भर्न दृढ सङ्कल्पित रहेको उल्लेख गरेका छन् । जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरू कटिबद्ध एवं प्रतिबद्ध रहेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?