काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बुद्धिजीवीहरूले पार्टीभित्र विधि र पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जान सुझाव दिएका छन् ।
बुधबार काठमाडौंमा विशेष महाधिवेशन पक्षधर नेताहरूसहित भएको छलफलमा बुद्धिजीवीहरूले संस्थापन पक्षले विधि र पद्धतिबाहिर गएर असहमत पक्षलाई किनारामा पार्ने प्रयास गरिरहेको भन्दै त्यसको प्रतिवादका रूपमा विशेष महाधिवेशन आवश्यक रहेको बताएका हुन् । उनीहरूले विशेष महाधिवेशनमार्फत पार्टीको रूपान्तरण र पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुद्धिजीवी सुदर्शन आचार्यले पार्टी विधान र मुलुकको संविधानअनुसार अघि बढ्दा महामन्त्रीहरूलाई कारबाही गर्ने कुनै आधार पार्टी केन्द्रसँग नरहेको बताए । उनले संस्थापन पक्षले महामन्त्रीहरूलाई कारबाही गर्छ कि भन्ने प्रश्न छलफलमा उठेको उल्लेख गर्दै विशेष महाधिवेशनको पक्षमा दृढतापूर्वक उभिन सुझाव दिइएको बताए । साथै, पार्टी रूपान्तरणका लागि देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई विश्वस्त पार्नुपर्नेमा पनि उनले जोड दिए ।
बुद्धिजीवी अरुण सुवेदीले विशेष महाधिवेशन पक्षधरहरू ‘पोइन्ट अफ नो रिटर्न’को अवस्थामा पुगेको टिप्पणी गरे । उनले बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता सुनिश्चित भए विशेष महाधिवेशन गर्नु उपयुक्त हुने बताए । सुवेदीले बहुसंख्यक प्रतिनिधिबाट चुनिएको नेतृत्वले मात्र वैधानिकता पाउने उल्लेख गर्दै कुनै पनि हालतमा पार्टी फुट्न नहुने सुझाव दिएको जानकारी दिए ।
बुद्धिजीवी प्रताप पौडेलले नेपाली कांग्रेस नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याए । परिवर्तित कांग्रेसले मात्र युवाहरूको भावना अनुरूप काम गर्न सक्ने र राष्ट्रिय राजनीतिक चुनौतीको सामना गर्न सक्ने उनको भनाइ थियो ।
यसैगरी, बुद्धिजीवी विश्वकुमार केसीले पार्टी परिवर्तन, नीति र नेतृत्व रूपान्तरणमार्फत समाजमा विश्वास पुनःस्थापित गर्ने महामन्त्री थापाको कदमप्रति उपस्थित सबैले समर्थन जनाएको बताए । उनले नेताले जोखिम लिन सक्नुपर्ने र जोखिम नलिनु नै अर्को जोखिम हुने भन्दै विशेष महाधिवेशनको पक्षमा अघि बढ्न सुझाव दिए ।
विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आह्वान गरिसकेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको इच्छा र सहमतिविपरीत महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । पक्षधरहरूले पार्टी नेतृत्वलाई महाधिवेशनको अपनत्व लिन आग्रह गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया