नेपाली सेना जेनजी आन्दोलनमा असफल भयो : वरिष्ठ अधिवक्ता श्रेष्ठ

लोकपथ
168
Shares

काठमाडौं । नेपाली सेना राष्ट्रको गौरव भए पनि हालै भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय धरोहर जोगाउन असफल भएको सरोकारवालाहरूले बताएका छन् । 

स्वाधीन र सफल नेपालको लागि नेपाली सेनाको अपरिहार्यता र नागरिक कर्तव्य विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले आन्दोलनका बेला नेपाली सेनाले अपेक्षित भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे ।

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले नेपाली सेना अन्तर्राष्ट्रिय रूपमा सम्मानित भए पनि आन्तरिक रूपमा कमजोर देखिएको बताए । जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित सेनाको कार्यालयमै आगजनी हुनु राज्यका लागि गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ। उनले दंगा नियन्त्रणमा अन्तर्राष्ट्रिय कानुनअनुसार प्रयोग गरिनुपर्ने सिद्धान्तसमेत लागू नगरेको आरोप लगाए ।

श्रेष्ठले राष्ट्रिय धरोहर तथा सम्पदामा आगजनी गर्नेहरूलाई कारबाही गर्नुपर्ने र आगलागी नियन्त्रणमा नेपाली सेनाभित्र आन्तरिक कमजोरी भए त्यसबारे गरिएको कारबाही सार्वजनिक हुनुपर्ने बताए । आदेश नआएको वा राष्ट्रपतिको निर्देशन नभएको भन्दै निष्क्रिय बसिएको भए पनि त्यो कानुनबमोजिम त्रुटिपूर्ण कार्य हुने उनको दाबी छ ।

अवकाशप्राप्त सैनिक डा.पूर्णबहादुर सिलवालले भने सिंहदरबार आगजनी तथा तोडफोडका घटनामा नेपाली सेनालाई अनावश्यक विवादमा तानिएको टिप्पणी गरे । सेनाले २४ गते बिहानैदेखि कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको भए पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए ।

उनका अनुसार आन्दोलनका बेला राज्यले प्रयोग गर्न सक्ने वैकल्पिक शक्ति प्रयोग नगरी सेना र नेपाल प्रहरीलाई विवादमा ल्याइयो । 

आन्दोलनका अधिकांश गतिविधि डिजिटल माध्यमबाट निर्देशित भएको भन्दै केही समय इन्टरनेट बन्द गरिएको भए यति ठुलो क्षति नहुने उनको भनाइ छ । 

इन्टरनेट बन्द गर्ने अधिकार प्रधानमन्त्रीसँग रहेको उल्लेख गर्दै राष्ट्रप्रमुखले आवश्यक बेला आफ्नो अधिकार प्रयोग गर्न नसक्दा देश ठुलो दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए ।

कार्यक्रममा सहभागीहरूले नेपालको स्वाधीनता र सफलताका लागि सक्षम तथा सशक्त नेपाली सेनाको आवश्यकता रहेकोमा जोड दिएका छन्। नेपाली सेनालाई बलियो बनाउन नसके भेनेजुयलाजस्तै अवस्था आउन सक्ने दाबी गर्दै उनीहरूले सेनाले आफ्ना कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?