सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको चोटले झन्डै एक वर्ष मैदानबाट बाहिरिने

लोकपथ
154
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर चोटका कारण करिब ९ देखि १२ महिनासम्म मैदानबाहिर रहने भएकी छन् ।

अस्ट्रेलियन ए–लिगमा वेलिङ्गटन फिनिक्सको प्रतिनिधित्व गरिरहेकी भण्डारीको दाहिने घुँडामा गम्भीर चोट लागेको उनी खेलिरहेको क्लबले पुष्टि गरेको छ । चोटका कारण उनले यस सिजनका बाँकी सबै खेल गुमाउने भएकी छन् ।

गत शनिबार ब्रिस्बेन रोअरसँगको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किएपछि भण्डारी घाइते भएकी थिइन् । त्यसपछि गरिएको एमआरआई परीक्षणमा उनको दाहिने घुँडाको एसीएल (एन्टरियर क्रुसिएट लिगामेन्ट) पूर्ण रूपमा च्यातिएको पुष्टि भएको छ ।

यस चोटसँगै सावित्रा भण्डारी सिजनको अन्त्यतिर टोलीबाट बाहिरिने तेस्रो खेलाडी बनेकी छन् । यसअघि वेलिङ्गटन फिनिक्सकी मिडफिल्डर टेसेल मिडाग र एलिसा व्हिनह्याम पनि चोटकै कारण टोलीबाट बाहिरिएका थिए ।

यसै सिजन अस्ट्रेलियन ए–लिगमा आबद्ध भएकी भण्डारीले वेलिङ्गटन फिनिक्सका लागि तीन गोल गर्न सफल भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?