काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पार्टीको केन्द्रीय विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको सूचना तथा प्रचारपसार समितिका संयोजक सुवास पोखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गर्दै, पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्व लिएर दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे ।
पार्टीभित्रको संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई एकताबद्ध र सुदृढ बनाउन यो महाधिवेशन कोशेढुंगा साबित हुने उनको दाबी छ। महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समितिहरू गठन गरिएको पनि उनले जानकारी दिए ।
यी समितिहरूमा पूर्वजिल्ला सभापति तथा पूर्वकेन्द्रित सदस्य समन्वय, जनपरिचालन, जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, सूचना तथा प्रचारप्रसार समिति, जिल्ला सम्पर्क समिति, भातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, सांस्कृतिक कार्यक्रम तयारी, जेनजी युवा परिचालन, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समिति रहेका छन् ।
पोखरेलले भने, ‘विधानको धारा १५ अनुसार केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो र यसले लिने हरेक निर्णय वैध मानिन्छ। त्यसैले पार्टी केन्द्रले यसको आयोजनामा स्वामित्व लिनेछ र महाधिवेशनलाई भव्य र सार्थक बनाउने हाम्रो साझा दायित्व हो ।’
पार्टीभित्र बढ्दो विवाद र नेतृत्व तहको असन्तुष्टिका बिच विशेष महाधिवेशन पक्षधरले केन्द्रीय महाधिवेशन आह्वान गरेका हुन् । यसैबिच, पार्टी कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै अगामी जेठ मसान्तसम्म केन्द्रीय कार्यसमितिको कार्य अवधि थप गर्ने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया