काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी रकम तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित सात देश थप गरेको छ । यो व्यवस्था आगामी जनवरी २१ देखि लागू हुनेछ ।
अब नेपाली नागरिकले अमेरिकी बी–१/बी–२ भिसाका लागि आवेदन गर्दा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म (करिब ७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार रुपैयाँ) धरौटी तिर्नुपर्नेछ ।
विदेशी नागरिकको भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले धरौटी रकम निर्धारण गर्नेछन् । निर्देशन पाएपछि मात्र यात्रुले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको फारम आई–३५२ भर्नुपर्नेछ र पे डट गोभमार्फत अनलाइन भुक्तानी गर्नुपर्नेछ । धरौटी तिरेकै आधारमा भिसा स्वीकृत हुने छैन । यस्तै कन्सुलर निर्देशनबिना बुझाइएको रकम फिर्ता नहुने जनाइएको छ ।
यो व्यवस्था अमेरिकी विदेश मन्त्रालयको भिसा बोन्ड पाइलट प्रोग्रामअन्तर्गत ल्याइएको अस्थायी पहल हो, जुन सन् २०२६ अगस्ट ५ सम्म लागू रहनेछ । भिसाको अवधि नाघेर अमेरिकामा बस्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जनाइएको छ ।
भिसाका सबै सर्त पालना गरी समयमै स्वदेश फर्किने यात्रुले अमेरिका छोडेपछि धरौटी रकम फिर्ता पाउनेछन् । तर धरौटी तिर्ने यात्रुले बोस्टन लोगान, जोन एफ केनेडी र वाशिङटन डलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र अमेरिका प्रवेश गर्न पाउनेछन् । आगमन र प्रस्थान मितिमा ध्यान नदिँदा धरौटी रकम जोखिममा पर्न सक्ने विज्ञहरूको चेतावनी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया