महामन्त्री थापाको आरोप : ‘क्लष्टर बाँडफाँडमै खल्तीका मान्छे छानिए’

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटमा नेताहरूको व्यक्तिगत स्वार्थअनुसार भागबण्डा गरिएको आरोप लगाएका छन् । 

उनले कांग्रेस र नेकपा एमालेबिचको तालमेल पार्टीगत आवश्यकता भन्दा पनि शीर्ष नेताहरूको नितान्त व्यक्तिगत सम्बन्धका आधारमा भएको दाबी गरे।

बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले क्लष्टर बाँडफाँड नै कुन नेता बनाउने भन्ने हिसाबले गरिएको बताए । उनले भने, ‘एमालेले पनि आफ्नो आवश्यकताअनुसार समुदाय र क्षेत्र छुट्याएको छ भने कांग्रेसले पार्टीका होइन, नेताका खल्तीका मान्छे बनाउन क्लष्टर लिएको देखिन्छ ।‘

थापाले कांग्रेसबाट राष्ट्रिय सभाका लागि प्रस्तावित नौ जना उम्मेदवारमध्ये तीन जनाको नाम कुनै पनि तल्लो तहका समिति जिल्ला वा क्षेत्रीयबाट सिफारिस नभएको बताए । ‘यसरी सिफारिसबिनै नाम पारित गर्दा संसदीय बोर्ड र केन्द्रीय समितिको मात्र होइन, जिल्ला र क्षेत्रीय समितिहरूको सिफारिस प्रक्रियाको समेत अपमान भएको छ,‘ उनले भने।

समावेशिताको मर्मलाई समेत बेवास्ता गरिएको थापाको आरोप छ । प्रस्तावित नौ जनामध्ये एक जना पनि जनजाति समुदायबाट नपरेको र योग्य मुस्लिम उम्मेदवारलाई जानीजानी बाहिर राखिएको उनले बताए । ‘मुस्लिम समुदायबाट लामो समयदेखि काम गरेका योग्य व्यक्तिलाई अवसर आएको बेला अर्को क्लष्टर मिलाउनुपर्ने भन्दै छुटाइयो,‘ थापाले भने ।

उनले यसअघि मधेसी समुदाय नपरेको विषयमा पार्टीभित्र फरक मत राखिएको स्मरण गराउँदै पार्टीले गल्ती सच्याएको भए पनि अहिले फेरि जनजाति प्रतिनिधित्व शून्य भएकोप्रति आपत्ति जनाए ।

महामन्त्री थापाले एमालेसँग राष्ट्रिय सभामा तालमेल गर्ने निर्णयको औचित्यमाथि पनि प्रश्न उठाए। पछिल्लो समय पार्टीभित्र महामन्त्रीहरूलाई पेल्ने प्रवृत्ति बढेको गुनासो गर्दै उनले उम्मेदवार छनोट प्रक्रियामा आफूहरूको स्पष्ट फरक मत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?