मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल

लोकपथ
91
Shares

 काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिने नदिनेबारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला बुधबार नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले सो विषयमा आफूले कुनै निर्णय नलिएको बताएका हुन् ।

उनले निर्वाचनमा उठ्नका लागि कुनै पनि राजनीतिक पार्टीसँग वार्ता वा छलफल नगरेको पनि प्रस्ट्याए । आफू कुनै पार्टीमा प्रवेश गरेको, जाने वा आउने भन्ने कुरा समेत नभनेको उल्लेख गर्दै सञ्चार माध्यममा आएका केही समाचारहरू वास्तविकताभन्दा फरक ढंगले आएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

मन्त्री खरेलले भने, ‘मैले आजको दिनसम्म चुनावमा उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन । म कुनै पनि पार्टीमा गएको छैन, वार्ता गरेको छैन । मेरो सम्पूर्ण ध्यान अन्तरिम सरकार र सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न गराउनेतर्फ केन्द्रित छ ।

मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको सन्दर्भ उल्लेख गर्दै मन्त्री खरेलले सञ्चार माध्यमहरूलाई संवेदनशील भएर सही र तथ्यपरक समाचार मात्रै सम्प्रेषण गर्न आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?