पर्सा । विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शनका विषयमा सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट सहमति जुटेपछि यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।
कर्फ्यु हटाइएसँगै आज बिहानदेखि बजार, विद्यालय, उद्योगधन्दा तथा कलकारखाना पूर्णरूपमा सञ्चालनमा आएका छन् ।
लगातार दुई दिनसम्म विरोध प्रदर्शन चर्किँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । मंगलबार बेलुकादेखि बजारहरू छिटपुट रूपमा खुल्न थालेका थिए भने आजदेखि जनजीवन पूर्ववत् अवस्थामा फर्किएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहमति जुटेपछि शान्ति सुरक्षा कायम भएको र जनजीवन सामान्य बन्दै गएको बताए । सामाजिक तथा धार्मिक आस्थासँग जोडिएको विषयमा दुई समुदायबिच विवाद उत्पन्न हुनसक्ने सम्भावनाका कारण कर्फ्यु जारी गरिएको उनले स्पष्ट पारे ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मंगलबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको कर्फ्यु मंगलबार दिउँसो ३ बजेबाट हटाइएको थियो ।
कर्फ्यु हटाइएपछि वीरगञ्जको मुख्य बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ। मेनरोडका पसलहरू खुलेका छन् भने रिक्सा, टाँगा, मोटरसाइकलसहित अन्य सवारीसाधन पनि नियमित रूपमा सञ्चालनमा आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया