काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध योजनाबद्ध घेराबन्दी भइरहेको आरोप लगाएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले पछिल्लो समय नेपाली कांग्रेसमा प्रक्रिया र विधानलाई बेवास्ता गर्दै संख्याको दम्भमा महामन्त्रीहरूमाथि प्रहार गरिएको बताए । उनले पार्टीभित्र केही नेताहरू मिलेर आफूहरूलाई कर्नर गर्ने प्रयास भइरहेको दाबी गरे ।
महामन्त्री थापाले भने, ‘पार्टीभित्र पछिल्लो समयमा प्रक्रिया र विधान निल्दै जाने क्रममा म र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई महामन्त्रीको हैसियतमा आफ्नो भूमिका निर्वाह गरिरहँदा कर्नर गर्ने, घेराबन्दी गर्ने र यसका विरुद्ध सबै मिल्ने काम भएको छ।’
उनले पार्टी कार्यालयभित्रको घेराबन्दी सानो भए पनि आम कार्यकर्ता, समर्थक र शुभेच्छुकको घेरा ठुलो रहेको उल्लेख गरे । ‘यहाँभित्र सबै मिलेर जति घेराबन्दी गरे पनि यो घेरा सानो छ, तर पार्टीको घेरा ठुलो छ। तपाईँहरू हामीलाई साँघुरो घेराबाट अझ ठुलो घेरातर्फ जान बाध्य पार्दै हुनुहुन्छ,‘ उनले भने।
महामन्त्री थापाले संख्याको आधारमा दम्भ देखाउँदै पार्टीका महामन्त्रीहरूमाथि दबाब सिर्जना गरिएको भन्दै यसबारे अन्ततः आम कार्यकर्ता र नागरिकले छिनोफानो गर्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया