काठमाडौं । चुनावी सरकारका तीन जना मन्त्रीहरूलाई सरकार छोड्नुपर्ने दबाब बढ्दो छ । ती मन्त्री हुन् ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकार वा दलमध्ये एक रोज्न भनेपछि तीन मन्त्रीहरू राजीनामा दिनुपर्ने दबाबमा परेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठक सुरु हुनासाथ कार्कीले भनेकी थिइन्, ‘यो गैरदलीय नागरिक सरकार हो । मन्त्रीहरू विभिन्न दलमा आबद्ध भएका खबरहरू आइरहेका छन् । चुनाव लड्ने हो भने तपाईंंहरूले सरकार छाड्नुपर्छ ।’
प्रधानमन्त्री कार्कीले दलमा लागेका मन्त्रीहरूलाई संकेत गरिन् । प्रधानमन्त्रीको संकेत बुझेपछि ऊर्जामन्त्री घिसिङ बोलेका थिए । उनले प्रधानमन्त्रीलाई अप्ठेरो पर्ने हो भने आफू छाड्न तयार रहेको बताए । खरेल र गुप्ताले खासै केही बोलेनन् । घिसिङले सुरुमा उज्यालो नेपाल पार्टी गठन गरेर राजनीतिमा प्रवेश गरेका थिए । पछि रास्वपामा समाहित भई पार्टी उपसभापति बन्ने सहमति गरे । रास्वपाको उपसभापति पदका लागि सहमति (सम्झौता) गरेका घिसिङले पछिल्ला दिनमा भने कुनै पनि दलको सदस्य नभएको दाबी गर्दै आएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उनले आफू कुनै पनि दलमा आबद्ध नभएको जिकिर नै गरे । प्रश्न थियो– ‘तपाई नागरिकको जगमा बनेको सरकारको मन्त्री हो कि रास्वपाको मन्त्री हो ?’
उनको जवाफ थियो, ‘म कुनै पनि पार्टीको सदस्य छैन ।’
पुस १४ गते सोमबार राति रास्वपा र घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता सहमति भएको थियो । घिसिङ र रास्वपाबीच भएको सातबुँदे सहमतिमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ साक्षी बसेका थिए । कुलमानलाई पहिलो वरियताको उपसभापति बनाउने गरी रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएको थियो ।
सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र कुलमानका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए । बालेनले भने साक्षीका रूपमा हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर भएको सहमतिको चौथो बुँदा अनुसार रास्वपामा अब कुलमानसहित तीन उपसभापति रहने छन् । ‘रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने,’ सहमतिको बुँदा नम्बर ४ मा उल्लेख छ ।
रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगर मेयर बालेन शाह र घिसिङबीच सहमति हुँदा मन्त्री गुप्ता पनि सँगै थिए ।
मन्त्री खरेलको निकटता पनि रास्वपासँगै छ । उनी आउँदो चुनाव लड्ने तयारीमा रहेको अनुमान गरिएको छ । प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको सबैभन्दा ठूलो भरोसा घिसिङलाई मानेकी थिइन् । उनी तयार भएपछि मात्रै आफ्नो नेतृत्वमा सरकार बन्न सम्भव भएको सार्वजनिक टिप्पणी नै उनले गरेकी थिइन् ।
तर मन्त्री घिसिङ दलीय राजनीतिमा सक्रिय हुन थालेपछि उनी असन्तुष्ट भइन् । यसअघि पनि चुनाव लड्ने मन्त्रीले राजीनामा दिनुपर्ने सन्देश दिएकी कार्कीले सोमबार भने मन्त्रिपरिषद् बैठकमै निर्देशन दिएकी हुन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले प्रधानमन्त्री नियुक्त भएलगत्तै सार्वजनिक रूपमै भनेकी थिइन्, ‘मन्त्री कुनै राजनीतिक दलमा नलागेको चाहिन्छ । जनजाति, महिला, दलित र पिछडिएको समुदायको प्रतिनिधित्व हुन्छ । पार्टीमा गएको छ भने त्यो हुँदैन ।’
मन्त्रीहरू दलीय गतिविधिमा सहभागी हुन थालेपछि उनको यो प्रतिबद्धतामाथि नै प्रश्न उठिरहेकाले उनी निराश भएकी हुन् । घिसिङ प्रत्यक्ष निर्वाचनको मनोनयनअघि राजीनामा दिने मनस्थितिमा रहेको बुझिएको छ । तर प्रधानमन्त्रीले नै राजीनामा मागेपछि अब उनीलगायत अन्य मन्त्रीहरू जो दलगत राजनीतिमा लागेका छन् उनीहरूलाई सरकारमा बस्न नैतिक अप्ठेरो परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया