कच्चा पदार्थको भ्याट हटाउन निजी क्षेत्रको माग

लोकपथ
35
Shares

काठमाडौं । कच्चा पदार्थमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) ले निर्यातजन्य उद्योगलाई निरुत्साहित गरिरहेको भन्दै निजी क्षेत्रका अगुवाहरूले भ्याट हटाउन सरकारसँग माग गरेका छन् ।

नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारण सभा तथा १०औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले निर्यात उद्योगमा परेको नकारात्मक असरप्रति राज्य गम्भीर हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले उद्योगका लागि आवश्यक कच्चा पदार्थ अधिकांश विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै कच्चा पदार्थमा भ्याट लगाउँदा निर्यात व्यापार कमजोर बन्ने बताए । उनले कच्चा पदार्थमा लाग्दै आएको भ्याटको पुनरावलोकन गर्दै हटाउनुपर्नेमा जोड दिए ।

श्रेष्ठका अनुसार हाल लजिस्टिक लागत ३५ प्रतिशतसम्म पुग्ने गरेको छ भने अन्य देशमा एक महिनामा सकिने ट्रान्जिट प्रक्रिया नेपालमा दुई महिना लाग्ने गरेको छ । यस्ता लागत कसरी घटाउन सकिन्छ भन्नेमा राज्यको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गति दिन स्वदेशी उत्पादन बढाउन आवश्यक रहेको बताए । बाह्य सूचकहरू केही सकारात्मक देखिए पनि आन्तरिक रूपमा अर्थतन्त्र समस्याग्रस्त रहेको उल्लेख गर्दै उनले उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेका बताए । स्वदेशी उत्पादनको खपत बढाउने नीति अवलम्बन गरे मात्र अर्थतन्त्र मजबुत बन्ने उनको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले उत्पादनदेखि बजारीकरणसम्म निजी क्षेत्र नै अर्थतन्त्रको प्रमुख चालक बनेको उल्लेख गर्दै निर्यातमुखी उद्योगलाई राज्यले विशेष सहुलियत दिनुपर्ने बताए । हाल लगानीमैत्री वातावरण नबन्दा निजी क्षेत्रमा विश्वासको अभाव देखिएको उनको भनाइ छ ।

उनका अनुसार बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जा विस्तार हुन नसक्नुले मुलुकमा लगानी वातावरण कमजोर रहेको संकेत गर्छ । हालको कठिन आर्थिक अवस्थाबाट बाहिर निस्कन बैंकमा थुप्रिएको लगानीयोग्य रकमलाई उत्पादनमूलक क्षेत्रमा सही ढंगले प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?