उद्योगमन्त्री सिन्हा भन्छन् : ‘चालु आर्थिक वर्षमा निर्यात अनुदान दिन असम्भव’

लोकपथ
35
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षमा निर्यात अनुदान दिन वर्तमान सरकारले सक्षम नभएको बताएका छन् । 

उद्योग व्यवसायीलाई दिइने अनुदानको शीर्षकमा अघिल्लो सरकारले मात्र १० हजार छुट्याएको कारण यस्तो अवस्था आएको उनले बताए ।

नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारण सभा र १०औँ निर्यात दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले भने, ‘निर्यातले विदेशी मुद्रा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ, तर तत्कालीन सरकारको अकर्मण्यताका कारण व्यवसायीलाई अनुदान दिन सकिएको छैन ।’

सिन्हाले निर्यात अनुदान सम्बन्धी विगतका समस्या र प्रशासनिक चुनौतीहरूको चर्चा गर्दै, आगामी दिनमा सक्षम व्यक्तिलाई मात्रै सांसदमा पठाउन जनता सचेत रहन आग्रह गरे । 

उनले भने, ‘जेठमा आएको बजेटमा निर्यात अनुदान शीर्षकमा जम्मा १० हजार मात्रै छुटेको रहेछ । यस कारणले हामीले अनुदान दिन सकेनौँ।’

मन्त्री सिन्हाले पुरानो निर्यात अनुदानको पुनःव्यवस्थापन र नयाँ निर्यात प्रोत्साहन कार्यक्रमका लागि कार्यविधि तयार पारिरहेको जानकारी दिए । उनले मेक इन नेपाल र मेड इन नेपालजस्ता कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सिन्हाका अनुसार, गुणस्तर परीक्षणका लागि प्रयोगशालाको स्तर सुधार गर्ने काम भइरहेको छ । तर, गुणस्तर विभाग जलेको कारणले शून्यबाट काम सुरु गर्नुपर्ने चुनौती थपिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?