सशस्त्रको आईजीपीकै दाबेदार थिए, आज रातिदेखि डीआईजीमै अवकाशमा जाँदैछन्

लोकपथ
13.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका तीन जना नायब महानिरीक्षक (डीआईजी)हरू आज राति १२ बजेपछि अनिवार्य अवकाशमा जाने भएका छन् । 

ठीक एक वर्षअघि आजैका दिन एक वर्ष म्याद थप भएका चार जना डीआईजीमध्ये तीन जना चार जोड एकको पदावधि सकिएर अवकाशमा जाँदै गर्दा एक जना भने भावी नेतृत्वको दाबेदार बनेका छन् । 

आज राति अवकाशमा जाने डीआईजीहरूमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्यविभागमा कार्यरत कमल गिरी, मानवस्रोत विभागमा कार्यरत कुलबहादुर नेम्वाङ र स्टाफ कलेजका शम्भु सुवेदी छन् । त्यसबेला म्याद थप भएका गणेशबहादुर ठाडामगर भने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी) मा बढुवा भइसकेका छन् । उनले आफूलाई भावी नेतृत्वको प्रबल दाबेदारका रूपमा उभ्याइसकेका छन् ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि ४ वर्षको हुन्छ । तर, नियमावलीको दफा ६५ कै (ग)को उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजीको पदावधि ४ वर्षपछि १ वर्ष थप्न सक्ने उल्लेख छ । यसैको आधारमा गतवर्ष तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पदावधि सकिन केही घण्टाअघि मात्रै उनीहरूको एक वर्ष म्याद थप गरेको थियो । 

आज रातिदेखि अनिवार्य अवकाशमा जान लागेका डीआईहरुमध्ये गिरी ३ असार २०५६ मा प्रहरी निरीक्षकमा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए । नेम्वाङ भने उनीपछिको वैकल्पिक सूचीमा थिए । सुवेदी भने वर्तमान आईजीपी राजु अर्याल, एआईजीद्वय नारायणदत्त पौडेल र वंशीराज दाहालका ब्याची हुन् । १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका उनीहरू पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए । 

गतवर्षको पुसमा यी चार जना डीआईजीको म्याद थप्ने बेलामा पनि चर्को विवाद भएको थियो । सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीआईजीद्वय सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेलले म्याद थपको विपक्षमा चर्को लबिङ गरेपछि म्याद थपमा ढिलाइ भएको थियो । त्यसबेला म्याद थप भएको अवस्थामा एक जना सशस्त्र प्रहरीको भावी नेतृत्वमा पुग्ने देखिएकाले पनि त्यसबेला यसलाई विशेष चासोका साथ हेरिएको थियो । भलै यसमा ठाडामगरले बाजी मारिसकेका छन् । त्यसबेला डीआईजीको वरीयतामा दुई नम्बरमा रहेका ठाडामगरलाई तत्कालीन ओली सरकारले एआईजीमा बढुवा गरेको थियो । 

सूचना निकालेको एक महिनापछि मात्रै बढुवा सिफारिस

तत्कालीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमले २ बैशाख, २०८२ को मध्यराति ३० बर्से सेवा अवधि पूरा गरेपछि वरीयतामा पहिलो नम्बरमा रहेका कमल गिरी र दोस्रो वरीयताका गणेशबहादुर ठाडामगरबीच चर्को प्रतिस्पर्धा भएको थियो । तर तत्कालीन सरकारले दोस्रो वरीयतामा रहेका ठाडामगरलाई बढुवा गर्दा पहिलो वरीयताका डीआईजी गिरी आज रातिदेखि अनिवार्य अवकाशमा जान बाध्य भएका हुन् । 

बढुवा सिफारिस समितिले गत बैशाख १४ गते सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको थियो । आह्वान गरेको एक महिना एक दिनपछि बढुवा सिफारिस समितिले ठाडा मगरको नाम सिफारिस गरेको हो । अहिले भने बढुवा प्रयोजनका लागि सूचना निकालिरहनु पर्दैन । 

त्यसबेला एआईजी बढुवाका लागि नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएर आएका चार जना, नेपाल प्रहरीमै प्राविधिक नायव निरीक्षक (सई) मा भर्ना भई सशस्त्रमा स्थानान्तरण भई आएका दुई जना र सशस्त्र प्रहरीमै भर्ना भएका सशस्त्र प्रहरी निरीक्षकको पहिलो ब्याचका दुई जनाले आवेदन दिएका थिए । आवेदन दिनेमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएका कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी थिए । यसैगरी नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सई) मा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भई आएका लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल र सशस्त्रको पहिलो इन्स्पेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेल थिए । 

बढुवा भएको अवस्थामा तीन वर्षपछि संगठन प्रमुख नै बन्न सक्ने र नभए विभिन्न मितिमै डीआईजीबाटै अवकाशमा जानुपर्ने भएकाले पनि त्यसबेला यो बढुवा फारम भरेकाहरूका हकमा विशेष थियो । 

एआईजीका लागि आवेदन दिन सबै डीआईजीले सक्ने भएपनि गिरी, ठाडामगर, नेम्वाङ र सुवेदीको मात्रै आवेदन पर्ने सशस्त्र मुख्यालयको अनुमान थियो । तर सशस्त्रको पहिलो इन्स्पेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेलले पनि आवेदन दिएपछि नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सई) मा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भई आएका सिंह र पालले पनि ‘आफूभन्दा जुनियरले पनि आवेदन दिएको’ भन्दै आवेदन दिएका थिए । यद्यपि, उनीहरूको आवेदनलाई सशस्त्र मुख्यालयले गम्भीरतापूर्वक लिएको थिएन । तर सि.सं. १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका श्रेष्ठ र पोखरेलको आवेदनलाई भने सशस्त्र मुख्यालयले गम्भीरतापूर्वक लिएको थियो । श्रेष्ठ र पोखरेलसँगै डीआईजीमा बढुवा भएका दीपेन्द्र शाह र पुरुषोत्तम थापाले भने आवेदन दिएका थिएनन् । 

एसपी र डीआईजीमा भोगेका थिए तनाव 

डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर र कुलबहादुर नेम्वाङसहितले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को पदावधिका कारण पेन्सन नपाक्दै १८ वर्षको सेवाकालमै अवकाशमा जाने भएपछि तत्कालीन आईजीपी सिंहबहादुर श्रेष्ठको पालामा उनीहरूको विशेष बढुवा भएको थियो । एसएसपीबाट डीआईजीमा बढुवा हुन उनीहरूलाई खासै गाह्रो भएन । तर सशस्त्र प्रहरी नियमावलीमै उल्लेख भएको चार जोड एकले भने गिरी, ठाडामगर, नेम्वाङ र सुवेदीले भने सास्ती बेहोर्नु प¥यो । 

आवेदन भर्ने आठ जनामध्ये गिरी, ठाडामगर, नेम्वाङ र सुवेदीको गत पुस २३ गते मात्रै एक वर्ष म्याद थप गरिएको थियो । आज रातिदेखि भने उनीहरू तीनै जनाले संगठनको बर्दी फुकाल्नुपर्ने छ । 

यो पनि …. त्यो धम्कीपूर्ण फोन, जसले प्रधानमन्त्री ओली पनि गले

बढुवा भए आईजीपीको बाटो खुला, नभए डीआईजीबाटै अवकाश

ठाडामगरको ‘ट्वाइसी’ बन्न डीआईजी गिरीद्वारा अस्वीकार, बुझबुझारथका बेला पनि ठाडामगरको अनुहार नै हेरेनन्

यसकारण ठाडामगरलाई आईजीपी बन्न सहज छैन

सशस्त्रमा एआईजी बन्न आठ जनाले भरे फारम, फारम भर्ने डीआईजी को कस्ता ?

ओली सरकारले यसरी बढायो सशस्त्रमा गैरव्यवसायिक खिचातानी








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?