राजनीतिमा विनाश होइन सहकार्य चाहिन्छ : माधव नेपाल

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेकपा सुसंस्कृत मानिसहरूको पार्टी भएको उल्लेख गर्दै पार्टीमा अरू सबै समाप्त होउन् भन्ने खालको सोच नरहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सहसंयोजक नेपालले नेकपाको राजनीतिक संस्कार नै सुसंस्कृत रहेको बताए । उनले पार्टीले कसैप्रति नकारात्मक टिप्पणी नगर्ने र अरूको निन्दा गरेर राजनीति गर्ने प्रवृत्तिमा विश्वास नराख्ने स्पष्ट पारे ।

उनले मंगलबार बसेको बैठक राष्ट्रिय सभा सदस्य निर्वाचनमा केन्द्रित रहेको जानकारी दिँदै मतभारको आधारमा अन्य दलहरूसँग सहकार्य हुन सक्ने संकेत गरे । देश र जनताको हितलाई प्राथमिकतामा राखेर आवश्यक राजनीतिक समन्वय गरिने उनको भनाइ थियो ।

सहसंयोजक नेपालले नेकपाले आफ्नो समय देश र जनताको सेवामा समर्पित गरेको भन्दै कसैसँग डराउनुपर्ने अवस्था नरहेको बताए । सबै राजनीतिक शक्ति र व्यक्तिले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘हामी कसैप्रति पनि नकारात्मक टिप्पणी गर्दैनौँ । नेपाली संस्कृति पार्टीको संस्कार नै सुसंस्कृत छ । त्यसैले अरूको पद खोस्ने, निन्दा गर्ने वा अरू सबै सिद्धिउन् भन्ने सोच हामी राख्दैनौँ । हामी फराकिलो हृदय भएका मानिस हौँ ।’

नेपालले आफूहरू विचार, सिद्धान्त र काममा प्रस्ट रहेको उल्लेख गर्दै गल्ती गर्नेले मात्रै डराउनुपर्ने बताए । ‘हामीले आफ्नो समय देश र जनताको सेवामा समर्पित गरेका छौँ । सबैले देश र जनतालाई केन्द्रबिन्दुमा राखुन् भन्ने हाम्रो चाहना हो,‘उनले थपे ।

सहसंयोजक नेपालले जनताको भलाइका लागि आफूहरू राजनीतिक अभियानमा सक्रिय रहेको दाबी गर्दै नेकपा जिम्मेवार र परिपक्व राजनीतिक शक्तिका रूपमा अघि बढिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?