पार्टी कार्यालयमा विमलेन्द्र निधिमाथि भएको घटनाबारे बोल्यो विशेष महाधिवेशन पक्षधर

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि भएको दुर्व्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना भएको बताएको छ ।

विशेष महाधिवेशन पक्षधरहरुले मंगलबार पत्रकार सम्मेलन गरी उक्त घटनाको जिम्मेवारी आफूहरुले नलिने बताएको हो ।

विशेष महाधिवेशन पक्षधरहरुले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन गएका नेता निधिलाई बाटो छेकेर ‘विशेष महाधिवेशन गर्ने कि नगर्ने ?’ ‘हामी तपाईँलाई छाड्दैनौँ’ भन्दै आक्रोश व्यक्त गरेका थिए । तर उक्त घटनामा आफूहरुको संलग्नता नरहेको विशेष महाधिवशेन पक्षधरका नेताहरुको दाबी छ ।

पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले उक्त घटना स्वतः स्फुर्त भएको बताए ।

आफूहरुले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गरे ।

उनले भने, ‘आज पार्टी अफिसमा जो घटना घटेको छ, त्यो स्वतःस्फुर्त हो । हामी त्यसलाई कार्यकर्ताको अन्तरआत्माको पुकार सम्झिन्छौँ । तर त्यसमा विशेष महाधिवेशनको तर्फबाट नेतालाई, नेतृत्वलाई, पार्टीलाई त्यस्तो गतिविधि गर्न हामीले कुनै आयोजना गरेका छैनौँ । त्यसको गतिविधिको हामी समर्थन पनि गर्न सक्दैनौँ । तर कार्यकर्ता पार्टीको सिंगो जीवन लोकतन्त्रको जीवन र आधुनिक जीवनको नेपाली समाज बनाउने त्यो कर्तव्यबाट भने कुनै पनि नेपाली कांग्रेसको कार्यकर्ता बाहिर हुँदैन । त्यसोभएको हुनाले त्यो अन्तरआत्माको पुकार उसको स्वभाविक हो । हामी त्यस्ता ती कयौँ साथीहरुका पुकार सुन्छौ । त्यसलाई धैर्यतापुर्वक लिन नेतृत्वलाई पनि हामी अनुरोध गर्छौ ।’

उनले विशेष महाधिवेशनको लागि आफूहरुले तिब्र तयारी थालेको पनि जानकारी दिए ।

विशेष महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको उनले बताए । उनले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौ आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?