सर्वपक्षीय सहमतिपछि वीरगञ्जमा जारी तनाव अन्त्य

लोकपथ
147
Shares

काठमाडौं । केही दिनदेखि पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा भइरहेको तनाव अन्त्य भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय बैठकपछि दुई पक्षबिच सहमति भएको हो ।

अन्य देशमा भइरहेको हिन्दू र मुस्लिम समुदायबिचको तनावलाई लिएर वीरगञ्जमा समेत दुई समूहबिच झडपको स्थिति समेत सिर्जना भएको थियो । हिन्दू र मुस्लिम समुदायबिच तनाव बढ्दा प्रशासनले भने सोमबारबाट निश्चित क्षेत्रमा कर्फ्यू समेत लगाएको थियो । आज साँझ ६ बजेसम्मका लागि कर्फ्यूको आदेश जारी गरिएकोमा सहमतिपछि हटाइएको छ ।

‘भविष्यमा हुनसक्ने धार्मिक, सामाजिक, सद्भावविरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरु एवं विभिन्न धार्मिक समुदायका अगुवाहरु रहने तपशील बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गरियो,’ सहमतिपछि जारी पत्रमा भनिएको छ ।

सहमति अनुसार स्थायी सद्भाव संयन्त्रमा हिन्दूका तर्फबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र अलि असगर मदनी रहेका छन् । त्यस्तै अन्य धार्मिक समुदायबाट पनि आवश्यक्ता अनुसार प्रतिनिधित्व रहने छन् भने जिल्लास्थित राजनीतिक दलहरुको तर्फबाट एकएक जना प्रतिनिधिहरु रहनेछन् भने नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षसहित नागरिक समाजको प्रतिनिधिहरु समेत रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?