काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रत्येक प्रदेशबाट १र१ जना उम्मेदवार रहनेगरी कांग्रेससँग तालमेल गर्नेबारे छलफल गरेको हो ।
बैठकपछि उपमहासचिव लेखराज भट्टले कांग्रेससँगको सहकार्यको सिट टुंगो लगाउने र उम्मेदवार छनोट गर्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको जानकारी दिए ।
कांग्रेससँगको छलफल अझै टुंगोमा नपुगेकाले थप संवादमार्फत निर्णयमा पुग्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको उनले बताए ।
बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र बनाउने निर्णयसमेत गरेको छ । सोही क्रममा अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरिएको छ । समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।
यस्तै, उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्य छन् ।
निर्वाचन व्यवस्थापनका लागि प्रदेश तथा विभागगत संयोजकहरू तोकिएका छन् । कोशीमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, काठमाडौंबाट डा। राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई जिम्मेवारी दिइएको छ । संगठन विभागमा भानुभक्त ढकाल, प्रचार विभागमा मिनबहादुर शाही र निर्वाचन विभागमा रमेश बडाललाई संयोजक तोकिएको छ ।
बैठकले निर्वाचनसम्बन्धी कामका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा नवनिर्वाचित युवा केन्द्रीय सदस्यहरूलाई परिचालन गर्ने निर्णयसमेत गरेको उपमहासचिव भट्टले जानकारी दिए । साथै, खाली रहेका जिल्ला इन्चार्ज तथा संयोजक पदमा पनि जिम्मेवारी तोक्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया