काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषय पेचिलो बनिरहँदा २ दर्जन बढी केन्द्रीय सदस्यहरुको समूह थप सक्रिय बनेको छ ।
संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको समूहले फागुन २१ को निर्वाचनअघि नै महाधिवेशन गर्न सुझाव दिँदै आइरहेको छ ।
जसले निर्वाचन अघि नै नेतृत्व फेर्ने तयारीमा रहेका संस्थापन इतर समूहको नेतृत्व गर्ने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतलाई थप बल पुगिरहेको छ । यसअघि सभापति शेरबहादुर देउवासहित महामन्त्रीद्वयलाई भेटेको उक्त समूहले मंगलबार कांग्रेस नेता डा. शेखर कोइरालालाई भेटेको छ ।
कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा पुगेर भेटेका ३० जना केन्द्रीय सदस्यहरुले निर्वाचनअघि नै महाधिवेशन गरेर नेतृत्व फेर्नुपर्नेमा जोड दिएका थिए ।
भेटपछि डा.पार्टीभित्र पुसको अन्तिम साता विशेष महाधिवेशन गर्नेबारे तयारी भइरहेकोमा त्यो सम्भव र उचित नहुने दाबी गरेका छन् ।
नेताहरुलाई सुझाव दिँदै डा. कोइरालाले राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभाका उम्मेदवारहरुको छनोट गर्नुपर्ने भएकाले आगामी माघ ६ गतेपछि मात्रै विशेष महाधिवेशन गर्न सुझाव दिए ।
‘अहिले राष्ट्रियसभा र प्रतिनिधिसभाका उम्मेदवार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुन्छ । त्यो बेलासम्म राष्ट्रियसभा तथा प्रतिनिधिसभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ,’ डा. कोइरालाले भने ।
त्यस्तै भेटमा डा. कोइरालाले भने आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले कुनै दलसँग पनि गठबन्धन गर्न नहुनेमा जोड दिए । गठबन्धनले दुईचार सिट बढी आउने भए पनि समानुपातिकमा पार्टीलाई दीर्घकालीन हानी हुने उनको तर्क ।
‘नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्नु हुँदैन। गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई–चार सिट बढी आउँला । तर, समानुपातिक मत घट्छ । कांग्रेसलाई दिर्घकालिन हानी हुन्छ,’ कोइरालाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया