काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अचानक गिरफ्तारी र त्यसपछि उठिरहेका अमेरिकाको डबल स्ट्यान्डर्डसम्बन्धी आरोपहरूका कारण भूराजनीतिमा तरंग नै मच्चिएको छ ।
भेनेजुएला एक स्वतन्त्र राष्ट्र हो । स्वतन्त्र देश भएका कारण त्यहाँको सरकार आफ्ना आन्तरिक मामिला आफै सम्हाल्न र निर्णय गर्न स्वतन्त्र छ । तर यस घटनाले एउटा स्वतन्त्र मुलुकको स्वतन्त्रतामाथि नै गम्भीर प्रश्न उठाएको छ ।
अमेरिकाले भेनेजुएलामा गोप्य सैन्य अपरेसन सञ्चालन ग¥यो, जसको नाम थियो– अपरेसन आबसुलेट रिसल्भ ।
अमेरिकी सेनाले ३ जनवरी २०२६ शनिबार राति भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘अपहरण’ ग¥यो । मादुरो र उनकी पत्नी अहिले न्यूर्योकको ब्रुकलिन महानगरीय जेलमा छन् ।

काराकासस्थित राष्ट्रपति भवनमै आक्रमण गरेर नियन्त्रणमा लिइएका मादुरो दम्पतीमाथि लागूपदार्थ तस्करी, हतियार कारोबार र नार्को–आतंकवाद जस्ता गम्भीर आरोप लगाइएको छ । उनीहरूलाई सोमबार न्युयोर्कको फेडरल अदालतमा उपस्थित गराइएको थियो । अदालतमा भएको सुनुवाइमा अपदस्थ राष्ट्रपति मादुरोले आफूविरुद्ध लगाइएका सबै अमेरिकी आरोप अस्वीकार गरेका छन् । अदालतमा बोल्दै मादुरोले आफू निर्दोष रहेको दाबी गर्दै कुनै अपराध नगरेकोसमेत बताएका छन् ।
आफूलाई काराकासस्थित आफ्नै घरबाट अपहरण गरी अमेरिका ल्याइएको उनको दाबी छ । मादुरोले अझै पनि आफू भेनेजुएलाको राष्ट्रपति रहेको जिकिर गर्दै आफूविरुद्धका आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी पनि गर्दै आएका छन् ।
मादुरो दम्पतीले आफूहरू ‘नट गिल्टी’ (निर्दोष) भएको दाबी पनि गरेका छन् । अदालतमा मादुरोले आफ्नो गिरफ्तारीलाई गलत र गैरकानुनी भन्दै यसलाई राजनीतिक प्रतिसोधको संज्ञा दिएका छन् ।
हतकडी लगाएर अदालत लगिएका मादुरोलाई दर्शकदीर्घाबाट एक व्यक्तिले ‘तिमीले यसको मूल्य चुकाउनुपर्छ’ भन्दै कराएपछि मादुरोले आफू ‘अपहरित राष्ट्रपति’ र ‘युद्धबन्दी’ भएको जवाफ फर्काए । उनले आफूलाई सभ्य मानिस बताउँदै अदालतमा ३० मिनेटको सुनुवाइका क्रममा आफ्नो बचाउको प्रयास गरे पनि ९२ वर्षीय न्यायाधीश एल्भिन हेलस्र्टाइनले उनलाई ‘यी विषयमा कुरा गर्ने समय र स्थान आउने’ भन्दै रोके ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
यस घटनापछि विश्वभरि मिश्रित प्रतिक्रिया देखिएका छन् । केही देशले अमेरिकाको यो कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेका छन् भने अमेरिका पक्षले यो कारबाही नार्को–आतंकवाद र सुरक्षाविरुद्धको आवश्यक कदम भएको दाबी गरेको छ । अब यस विषयमा डबल स्ट्यान्डर्डको बहस सुरु भएको छ । आलोचकहरू प्रश्न उठाइरहेका छन् । यदि अमेरिका नियम र अन्तर्राष्ट्रिय कानुनको कुरा गर्छ भने के यस्तै कारबाही अन्य देशहरूमा पनि गरिनेछ ?

केही विश्लेषकहरूको भनाइमा यो कदम राजनीतिक स्वार्थ र तेल–संसाधनसँग जोडिएको पनि हुन सक्छ ।
मादुरोमाथि अमेरिकाले लगाएका आरोपहरू गम्भीर छन्, तर उनले अस्वीकार गरेका छन्, अन्तर्राष्ट्रिय प्रतिक्रिया विभाजित छ । अमेरिकामाथि ‘डबल स्ट्यान्डर्ड’ को आरोप लागेको छ ।
अन्तरिम राष्ट्रपतिको रूपमा डेल्सी रोड्रिगेज
यसैबीच, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएकी छन् । संसद् सत्रमा शपथ लिँदै उनले अमेरिकाको हिरासतबाट मादुरोको तत्काल रिहाइको माग गरिन् । मादुरो दम्पतीलाई अमेरिकी सेनाले गरेको ‘अपहरण’ लाई लिएर आफू मर्माहत भएको उनले बताइन् ।
यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा अमेरिकाको चर्को आलोचना भएको छ । भेनेजुएलाका राजदूत स्यामुएल मोन्काडाले आफ्नो देशमाथि ‘कानुनी आधारहीन अवैध सशस्त्र आक्रमण’ भएको बताए ।
तर, राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले विश्वको सबैभन्दा ठूलो ऊर्जा भण्डार ‘तथाकथित अवैध राष्ट्रपति’ र ‘भगौडा’ को हातमा छोड्न नसकिने भन्दै अमेरिकी कारबाहीको बचाउ गरे । वाल्ट्जले मादुरोलाई पक्राउ गर्न ‘सर्जिकल ल इन्फोर्समेन्ट अपरेसन’ चलाइएको दाबी गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ सय ५० भन्दा बढी विमान र २ सय सैनिक प्रयोग गरिएको उक्त अपरेसनपछि भेनेजुएलामा सुरक्षित संक्रमणकाल नआएसम्म अमेरिकाले नै शासन चलाउने बताएका छन् । उनले अमेरिकी तेल कम्पनीहरू भेनेजुएला गएर पूर्वाधार निर्माण गर्ने र देशका लागि पैसा कमाउने घोषणा पनि गरे । रोड्रिगेजको शपथपछि ट्रम्पले उनलाई चेतावनी दिँदै यदि ‘सही काम’ नगरे मादुरोभन्दा ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । यद्यपि, अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि रोड्रिगेजले अमेरिकासँग केही हदसम्म सहकार्य गर्ने संकेत गरेकी छन् । मन्त्रिपरिषद् बैठकमा उनले अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही साझा विकासका लागि अमेरिकासँग सहकार्य गर्न आह्वान गरिन् ।

शपथ ग्रहणका क्रममा संसद् भवनबाहिर मादुरो र रोड्रिगेजको समर्थनमा हजारौँ नागरिक जम्मा भएका थिए । रोड्रिगेजले ‘अवैध सैन्य आक्रमण’ का कारण पीडाबोध भए पनि देशको शान्ति, जनताको आत्मिक तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाइन् । मादुरोका छोराले पनि आफ्ना आमाबुवा भेनेजुएला फर्कने विश्वास व्यक्त गर्दै रोड्रिगेजलाई निःशर्त समर्थन गरे । मादुरोको मुद्दामा अर्को सुनुवाइ आगामी मार्च १७ का लागि तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया