काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेशप्रसाद यादवले सो पार्टी छाडेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका उनलाई सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीमा भित्र्याएका छन् । उमेशप्रसाद यादव सप्तरीका स्थायी बासिन्दा हुन् ।

उता, नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेशकुमार गुप्ताले एमाले छाडेका छन् । उनले आफूले एमाले छाड्नुमा गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका जायज मागलाई नजर अन्दाज गरेर आन्दोलनमा दमन गरेको, दुई ठूला दल मिलेर जे गरेपनि हुन्छ भन्ने दम्भ देखाएको र एमाले नेतृत्व सुध्रिने लक्षण नदेखेको’ लगायतका कारण पेस गरेका छन् ।
पूर्वसंघीय मन्त्रीसमेत रहेका गुप्ताले एमालेको नेतृत्वको मुख्य ध्यान नै भ्रष्टाचारलाई संरक्षण गर्ने देखिएको आरोपसमेत लगाउँदै भनेका छन्, ‘पार्टी नेतृत्वको ध्यान, गतिविधि, संस्कार भ्रष्टाचार गर्ने र भ्रष्टाचारी जोगाउने तर सुशासन नदिने देखिया त्यसैले पार्टी छाड्न बाध्य भएँ, नेतृत्वमा राम्रा कामको जस लिने तर गल्ती कमजोरी कहिल्यै नस्विकार्ने पटक–पटक देखियो अनि राजीनामा दिएको हुँ ।’
उनले अब आफू कुन दलमा जाने भनेर आफ्नो क्षेत्रका मतदाता र शुभेच्छुकसँग सल्लाह गरिरहेको बताए ।
गुप्ताले २०५६ र २०७४ मा प्रतिनिधि सभा सदस्य तथा २०६४ र २०७० मा दुईपटक संविधान सभा सदस्यमा जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया