काठमाडौं । नेपाली कांग्रेसका ५ जिल्ला सभापतिहरुले पार्टीमा विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकालेका छन् ।
आज पार्टी कार्यालय सानेपामा ५ प्रदेशका सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्र्दै गत शुक्रबारको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार अघि बढ्न भनेका हुन् ।
शुक्रबारको बैठकले मंसिर १५ गते सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार पुसको अन्तिम साता गर्ने भनिएको नियमित महाधिवेशन सम्पन्न गर्न नसकिने भन्दै ०८३ साल वैशाख २८ गतेबाट मात्रै नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् ।
त्यसबारे बोल्दै ५ प्रदेश सभापतिहरुले भने विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनको तयारीमा लाग्न भनेका हुन् ।
‘…नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पौष १८ को निर्णय अनुसार २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकोले त्यसअघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको अवस्थामा देशभरका सम्पूर्ण कांग्रेसजनहरुमा एकतावद्ध भई नियमित महाधिवेशनको तयारी र २०८२ फागुन २१ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउने कार्यमा जुट्न हार्दिक अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
नियमित महाधिवेशनको पक्षमा कोशी प्रदेश सभापति उद्धव थापा, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्भिम प्रदेश सभापति वीरबहादुर बलायर रहेका छन् ।
गण्डकी र लुम्बिनी प्रदेशका सभापति भने विशेष महाधिवेशनको पक्षमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया