काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) निकट थरुहट आन्दोलनका अभियन्ताहरुबिच सहमति भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक समायोजन घोषणा कार्यक्रममा दुई पक्षबिच ९ बुँदे सहमतिसहित रास्वपामा समाहित भएका हुन् ।
सहमतिपत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डीपी अर्यालले हस्ताक्षर गरेका हुन् । त्यस्तै थरुहट अभियन्ता लक्ष्मण थारु, नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र अरुहट अभियन्ता सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका हुन् ।
उनीहरु सहमतिपश्चात रास्वपाको शिद्धान्त, नीति, नेतृत्व र दलको झण्डासहित पार्टीको नाममा सहमति जनाएका हुन् ।
‘पहिलो पक्ष र दोस्रो पक्षबिच बृहत् समायोजन भएपश्चात स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमीको मध्यभागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिह्न ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा हुने,’ सहमतिपत्रमा भनिएको छ ।
यसैगरी ०७२ सालको टिकापुर घटनालाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्दै तत्कालीन लाल आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने सहमति समेत भएको छ ।
‘टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्दै राष्ट्रिय स्ततन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति–सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिहरुको उचित कार्यान्वयन गर्ने,’ सहमतिको पाँचौँ बुँदामा भनिएको छ ।
त्यसो त रास्वपाले यसअघि नै विवेकशील साझा, उज्यालो पार्टी नेपाल लगायत दल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग समेत एक भएर अघि बढ्ने सहमति गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया