रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

लोकपथ
70
Shares

काठमाडौं । टीकापुर हत्याकाण्डको मुद्दामा आममाफी पाएका रेशमलाल चौधरीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइका लागि सोमबार पेशी तोकिएको हो । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ ।

तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडा तले सर्वोच्च अदालतमा रिट हालेकी थिइन् । दुई वर्षदेखि सुनुवाइ हुन नसकेको चौधरीको माफीविरुद्धको रिट सुनुवाइका लागि आज पेसी तोकिएको हो ।

आममाफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते कडा तले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकोमा सो मुद्दामा २०८० जेठ २३ गते तत्कालीन न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो । सरकारका विभिन्न निकायले साउन ८ भित्रै सर्वोच्चमा लिखित जवाफ पेस गरेको भएपनि आज बल्ल सुनुवाइको पेसी तोकिएको हो । 

७ भदौ २०७२ मा टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच भएको हिंसात्मक झडपमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक नाबालकको निर्मम हत्या भएको थियो । गम्भीर घाइते भएका एक प्रहरीको पछि उपचारका क्रममा निधन भएको थियो । 

कसरी भएको थियो घटना ?

देशलाई संघीयतामा लैजाने भन्दै प्रदेश संरचनाको सिमाकंन र नामांकनका लागि दलहरूबीच बहस चलिरहेको थियो । ठाउँ ठाउँमा आन्दोलन चर्केका थिए । सुदूरपश्चिमका नौ वटै जिल्लाको एक प्रदेश हुनुपर्ने माग राखेर अखण्ड सुदूरपश्चिम आन्दोलन पनि उत्कर्षमा थियो । 

अर्कोतर्फ सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसहित थारु बाहुल्य क्षेत्रलाई समेटेर छुट्टै थरुहट प्रदेशको माग गरेर कैलाली कञ्चनपुरको थारु समुदाय पनि आन्दोलित थियो । अवस्था यस्तो थियो कि एकै ठाउँमा परस्पर विरोधी आन्दोलन चलिरहँदा प्रशासनले आन्दोलनका लागि फरक फरक सडक र समय छुट्याउनु परेको थियो । 

घटनाका दिन (भदौ ७ गते) टीकापुरका सरकारी कार्यालयमा थरुहट थारुवान प्रदेशको बोर्ड झुन्ड्याउने थारु आन्दोलनकारीहरूको तयारी थियो । हजारौँको संख्यामा आन्दोलनकारी टीकापुर बजार प्रवेश गर्ने तयारीमा रहेको सूचना पाएपछि तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपाने सुरक्षा कमान्ड सम्हाल्न आफैँ टीकापुर पुगेका थिए ।

तर आन्दोलनकारीहरूको ठूलो भीड प्रहरीले थेग्न नसक्दा अचानक दंगा फैलियो । आन्दोलनकारीको भीडबाट प्रहरीमाथि भाला र तरबारलगायतका हतियारले आक्रमण भयो । केही प्रहरीलाई ज्युँदै जलाइयो । प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित सात प्रहरीको निर्मम हत्या भयो । गोली लागेर एक अढाई वर्षीय बालकले पनि ज्यान गुमाए । उनको शरीरमा सुरक्षाकर्मीले चलाएको गोली लागेको बताइन्छ । थप एक प्रहरीको पछि उपचारका क्रममा निधन भयो । 

घटनापछि सुरक्षा खतरालाई ध्यानमा राख्दै कैलालीमा ३२ दिनसम्म कर्फ्यु लगाइएको थियो । तर टीकापुर हत्याकाण्ड भएको भोलिपल्ट ८ भदौमा कफ्र्यू लागेकै अवस्थामा टीकापुरमा थारु समुदायका घरमाथि हमला भएको थियो । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार भनिएका रेशम चौधरीले सञ्चालन गरेको फूलबारी एफएम तथा रिसोर्टमा आगजनी गरिएको थियो । 

रेशमलाई तीन तहकै अदालतले टीकापुर हत्याकाण्डका मुख्य दोषी मानेको थियो । जिल्ला र उच्च अदालतले गरेको जन्मकैदको सजाय सर्वोच्च अदालतले पनि सदर गरेको थियो । तर राजनीतिक सौदाबाजी गरेर सरकारले रेशमलाई जेलमुक्त गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले उनको कैद मिनाहा गरेका थिए । 

टीकापुर हत्याकाण्ड मच्चिएकै दिनदेखि फरार रहेका रेशमले फरार रहेकै अवस्थामा कैलाली १ (टीकापुर)बाट प्रतिनिधिसभाको चुनाव जितेका थिए । चुनाव जितेपछि उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । तर अदालतले टीकापुर घटनामा  दोषी रहेको फैसला सुनाएपछि रेशमको जेलको बाटो तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?