काठमाडौं । यतिबेला नेपाली कांग्रेसमा महाधिवेशनको विषयमा पेचिलो बन्दै गइरहेको छ ।
संस्थापन पक्षले निर्वाचनपछि नियमित महाधिवेशन गर्ने अडान कायम राखिरहँदा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु भने विशेष महाधिवेशनमा जुटेका छन् ।
असोजको अन्तिमतिर सुरु भइ मंसिर १५ गते सम्पन्न केन्द्रीय समिति बैठकले आगामी पुस २६ गतेबाट नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर तोकिएको कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले ०८३ साल वैशाखको अन्तिम साता मात्रै नियमित महाधिवेशन गर्ने निर्णय गर्यो । तर महामन्त्रीद्वय थापा र शर्माले पुसको अन्तिम साता विशेष महाधिवेशन गर्ने तयारी गरेसँगै कांग्रेसभित्र विषय पेचिलो बनिरहेको छ ।
यसै सन्दर्भमा कांग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डेमोक्रेटिक लयर्श एशोसियशन (डीएलए) ले त्यसबारे छलफल गरेको छ ।
आज काठमाडौंमा डीएलएका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुले बैठक बसी त्यसबारेमा छलफल गरेको हो । झण्डै तीन दर्जन डीएलएका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको भेलामा अधिकांशले अहिले विशेष महाधिवेशन सम्भव र उचित नरहेको धारणा राखेको वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले जानकारी दिए । तर भेलामा उपस्थित कतिपयले भने विशेष महाधिवेशनमा समेत जोड दिएको उनको तर्क छ ।
‘हामी आज ३० जना भन्दा बढी डीएलएका पदाधिकारी तथा पूर्वपदाधिकारीहरु बसेर छलफल गर्यौँ । जसमा बहुसंख्यक उपस्थित महानुभावहरुले अहिलेको सन्दर्भमा विशेष महाधिवेशनको औचित्य र आवश्यक्ता नरहेको स्पष्ट पार्नुभएको छ,’ उनले भने ।
भेलामा उपस्थित अधिकांश नेताहरुले विशेष महाधिवेशनले पार्टीले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय नै गरिसकेको अवस्थामा विशेष महाधिवेशन गर्नु उचित नहुने समेतका तर्क राखेका थिए । अहिले विधानको व्यवस्था अनुसार नै केन्द्रीय समिति रहेको र विधानकै व्यवस्था अनुसार म्याद थप्न पाउने अवधि रहेको अवस्थामा विशेषको नाममा नेतृत्व फेर्न लाग्दा पार्टी थप कमजोर हुने उनीहरुको जिकिर रहेको छ ।
‘विधानको व्यवस्था अनुसार नै सिंगो केन्द्रीय समिति नै वैधानिक रुपमा रहेको र म्याद थप गर्न पाउने व्यवस्था रहे अनुसार नै अघि बढ्न सक्ने अवस्थामा यदी विशेष महाधिवेशनका नाममा नेतृत्व फेर्ने तरिकामा लागियो भने निर्वाचनको सम्मुखमा पार्टी थप कमजोर हुने देखिन्छ भन्ने धारणा समेत कतिपयले राख्नुभयो,’ न्यौपानेले भने ।
त्यसो त कांग्रेसभित्र अहिले संरचनागत रुपमा नै परिवर्तन गर्नुपर्ने कुरा उठेको छ । तर विशेष महाधिवेशनले त्यसलाई सम्बोधन गर्न नसक्ने न्यौपानेको जिकिर रहेको छ ।
‘अहिले कांग्रेसमा संरचनागत रुपमा नै सुधार गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाइरहेको छ । तर विशेष महाधिवेशनले त्यो सम्भव छ त ? त्यसकारण सम्भावना हुँदाहुँदै विशेष महाधिवेशन गर्नु उचित होइन भन्ने आजको भेलाको निष्कर्ष हो,’ वरिष्ठ अधिवक्ता न्यौपानेको तर्क छ ।
बैठकमा डीएलएका पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता योगेन्द्र बहादुर अधिकारी ले आफ्नो धारणा राखेका थिए ।
डीएलएका उपाध्यक्षद्वय कविता कार्की र जनकराज श्रेष्ठ तथा डीएलएका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारी र सचिव धनमाया राना लगायत डीएलएमा आवद्ध करिब ३० जना कानुन व्यवसायीहरुले आ–आफ्नो धारणा राखेका थिए । धारणा राख्ने अन्य कानुन व्यवयासीहरुमा सुरेश कुमार कुमार पौडेल, केदार कार्की, सरिता शर्मा, राम कुमार श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, नरहरी आचार्य, सुवोधबाबु चिलुवाल, खडग बहादुर बुढाथोकी, अनिता जोशी, यगराज पोखरेल, तेज बहादु रावल, निर्भयराज पौडेल, सुकदेव काफ्ले आफ्नो राखेका हुन् ।
त्यसो त आज सभापति शेरबहादुर देउवाले आफू निकटका पदाधिकारीहरुको बैठक बोलाएर छलफल गरेका छन् । उता महामन्त्रीद्वयले आफ्नो अडान नछाड्दा सोमबारका लागि पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया