काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
सोमबार (भोलि) दिउँसो बस्नेगरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
त्यसो त यसअघि शुक्रबार मात्रै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकले पार्टीको १५औँ महाधिवेशन ०८३ साल वैशाख अन्तिम साता गर्नेसहित वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी जेठ अन्तिमसम्म थप गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त बैठकमा २ महामन्त्रीसहित ५ जना नेताहरुले विरोध जनाएका थिए ।
यता बैठकपछि बोल्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन गर्ने तयारीबारे स्पष्ट पारेका थिए ।
महामन्त्री थापा लगायतका नेताहरुले विधानको व्यवस्था अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेको भन्दै विशेष महाधिवेशन गर्ने तयारी भएपछि कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको छ ।
संस्थापन पक्षले फागुन २१ को निर्वाचन अघि महाधिवेशन सम्भव नभएको दाबी गरिरहँदा संस्थापन इतर पक्षका महामन्त्रीसहितका नेताहरुले भने विशेष महाधिवेशन गर्ने तयारी गरेका हुन् ।
यता आजै सभापति देउवाले आफू निकटका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।
कार्यसम्पादन समितिको बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया