पार्टीमा भागबण्डा मिलाउन रास्वपाले बढायो पदाधिकारी संख्या

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारीको संख्या थप गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी संख्या थप गर्ने निर्णय गरेको हो । आजको बैठकले ती पदाधिकारीको संख्या विधान संशोधनमा समावेश हुने गरी निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले लोकपथलाई जानकारी दिए ।

जसअनुसार उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ गरी ४ जना पदाधिाकारी थप गर्ने निर्णय गरेको हो ।

रास्वपाले पार्टी एकीकरणपछि अन्य दलबाट आएका नेताहरुलाई भागबण्डा मिलाउन पदाधिकारी थप गर्ने निर्णय गरेको हो ।

यसअघि रास्वपाको विधानमा सभापति १, उपसभापति २, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ जना राख्ने व्यवस्था रहेको छ ।

हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपामा मिल्न आएका छन् ।

यसअघि नै कुलमानलाई रास्वपा उपसभापति बनाउने शर्तसहित उज्यालो नेपाल पार्टीसँग रास्वपाको एकता भएको थियो । यता बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भए पनि बालेन निकटका व्यक्तिहरुलाई पार्टी पदाधिकारी बनाउने तयारी गरिरहेको रास्वपाले पदाधिकारी संख्या बढाएको हो ।

त्यसो त रास्वपाले आजै तत्कालीन विवेकशील साझाबाट रास्वपासँग मिल्न आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्ने निर्णय समेत गरेको छ । जसमा तत्कालीन विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा, नेतृ रन्जु दर्शनासहित ७ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?