सरकारी सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर अफवाह फैलाउने दुई जना पक्राउ

लोकपथ
98
Shares

काठमाडौं । सरकारी तथा गैरसरकारी निकायका सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोले विभिन्न सरकारी वेबसाइट तथा सूचना प्रणाली ह्याकिङ, डाटा ब्रिच र सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह गरेको आरोपमा पर्सा र कपिलवस्तु जिल्लाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका निवासी २० वर्षीय सन्तोष मिश्र र कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–६ का १८ वर्षीय विकास पौडेल रहेका छन् । उनीहरूलाई क्रमशः २०८२ मंसिर २८ र पुस १८ गते पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिहरूले CMD Nepal, Nepali for Nepal (NFN) लगायतका वेबसाइटहरूमा अनधिकृत पहुँच पुर्‍याएको, विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक तथा गलत सूचना प्रवाह गरेको तथा सरकारी निकायहरूको साइबर सुरक्षामा चुनौती सिर्जना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका व्यक्तिहरूबाट ल्यापटप, एन्ड्रोइड मोबाइल, आइफोन, फिचर फोन, हार्ड ड्राइभ र रिपिटरजस्ता विद्युतीय उपकरणहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

हाल उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमार्फत कानुनी प्रक्रिया अघि बढाइएको साइबर ब्यूरोले जानकारी दिएको छ ।

नेपाल प्रहरीले सूचना प्रविधिको दुरुपयोग गरी राज्य, संस्था वा व्यक्तिलाई क्षति पुर्‍याउने कार्य नगर्न सचेत गराउँदै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने साइबर ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?