काठमाडौं । सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको छ ।
ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन परियोजनामा वनपालेका रुपमा कार्यरत महतोको शनिबार घाटी काटेर हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शनिबार महतोको टाउको बिनाको शव भेटिएको थियो । आज दिउँसो मात्रै महतोको टाउको घटनास्थलबाट एक सय मिटरको दूरीमा फेला परेको हो ।
महतोको हत्याको अनुसन्धानमा दुई वटा कुकुरसहित धनुषाको लालगढबाट प्रहरीको विषेश अनुसन्धान टोलीले पुगेको थियो ।
प्रहरीले हत्याको आशङ्कामा एकजनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन ।
शनिबार बिहानै वनमा रूख काटेको आवाज सुनेपछि महतो साइकलमा त्यसतर्फ लागेका थिए । उनी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए ।
महतोको हत्यापछि स्थानीय त्रसित बनेको ईश्वरपुर नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया